
काठमाडौं ११ चैत– न्यायपरिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि तीन जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाउने तयारी गरेको छ । परिषद्को मंगलवार बस्ने बैठकले तीन जनाको नाम संवैधानिक परिषद्मा पठाउने तयारी गरेको परिषद् स्रोतले बतायो ।
परिषद्का सचिवले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीलाई चैत १ मा अवकास पत्र थमाएपछि सर्वोच्च अदालतको नेतृत्व कामु प्रधानन्यायाधीश दीपकराज जोशीले गर्दै आएका छन् । जोशीसहित तीन जनाको नाम पठाउने तयारी भएको परिषद् स्रोतले लोकान्तरलाई बतायो ।
न्यायपरिषद्को सिफारिशका आधारमा संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि एक जनाको नाम संसदीय सुनुवाई समितिमा पठाउँछ । बरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिश गर्ने विगतको प्रचलन छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने संवैधानिक परिषद्मा सभामुख, प्रतिपक्षी दलको नेता, उपसभामुख र कानून मन्त्री सदस्य रहने व्यबस्था छ । संसदीय सुनुवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यबस्था छ ।
छैन संसदीय सुनुवाइ समिति
परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिशको तयारी गरेपनि सुनुवाईका लागि संसदीय सुनुवाय समिति भने गठन भइसकेको छैन । फागुन २१ गतेदेखि शुरु भएको संसदले संसदीय समिति गठन गरिसकेको छैन ।
प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली बनाउन एक समिति गठन गरेको छ । एमाले सांसद कृष्णभक्त पोखरेल संयोजकत्वको समितिले नियमावली बनाएपछि मात्र समिति गठन प्रक्रिया शुरु हुनेछ ।
समितिलाई नियमावली बनाउन एक महिनाको समय दिइएको छ । नियमावली पारित भएपछि मात्र समिति गठन हुने र सुनुवाइको काम हुने छ । संसदीय समिति गठन नभएपनि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको नाम सिफारिश गर्ने तयारी गरेको छ ।