१२ असार २०८३, शुक्रबार

त्रिविको प्रमाणपत्र–मधेसमा दाइजो लिने अस्त्र !

चैत ११, २०७४
काठमाडौं
त्रिविको प्रमाणपत्र–मधेसमा दाइजो लिने अस्त्र !

जनकपुरधाम, ११ चैत– डा. भोगेन्द्र झा एक वर्षअघि प्राध्यापन पेशाबाट अवकाश प्राप्त भए । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सह–प्राध्यापक पदबाट उनले अवकाश प्राप्त गरेका थिए । त्रिविको आंगिक क्याम्पस राम स्वरूप राम सागर बहुमुखी (राराब) क्याम्पसमा उनले लामो समय सेवा गरेका थिए । अर्थशास्त्र विषयका विद्यावारिधी झा राज्य पुनर्संरचना आयोगका सदस्य समेत भई सकेका छन् ।

पछिल्लो समयमा जनकपुरमा हुने कुनै पनि शैक्षिक कार्यक्रममा उनी एउटा कुरा भन्न छुट्टाउँदैनन्, ‘आफ्नो प्राध्यापन पेशामा एउटा ठूलै पाप गरेको छु । सेवा अवधिको पछिल्लो १० वर्ष काम नै नगरी तलब खाएँ ।’ कलेजमा विद्यार्थीहरूलाई नपढाइकनै तलब खाएँ, क्लास नै सञ्चालन नहुँदा हाजिरी गरेर मात्रै अरू प्राध्यापकहरू जस्तै मैले पनि तलब खाएर जागिर पकाउने काम मात्रै गरें, झा भन्ने गर्छन् । झाको त्यो स्वीकारोक्तिले पनि राराब कलेजको दुरावस्थालाई प्रस्ट्याउँछ  ।

पछिल्लो एक दशकदेखि जनकपुरमा शैक्षिक माहौल बिग्रेको छ । ज्ञानभूमि जनकपुरमा विद्यार्थीले ज्ञान पाउनु भन्दा पनि कागजी प्रमाणपत्र लिनुमा नै आफूलाई माहान् ठानेका छन् । 

चिट बनाइदिनेको अभाव !

आज परिस्थिति कहाँ आइपुगेको छ भने चिट चोरी गर्न र गराउन पल्किएको समाजमा अब त्यै चिट बनाइदिने र चोराइदिने मानिसहरूको समेत अभाव भएको छ । जनकपुरमा शैक्षिक संस्थाहरूको भने अभाव छैन । प्रत्येक वर्ष दर्जनौं नयाँ विद्यालय तथा कलेजहरू खुलिरहेका हुन्छन् । तर, योग्य शिक्षक तथा राम्रा जेहेन्दार विद्यार्थीहरू भने पलायन भएर अन्यत्र जान बाध्य छन् । 

विगतमा सिन्धुलीबाट पढ्नका लागि जनकपुरमा विद्यार्थीहरू आउने गर्थे भने अहिले त्यसको ठीक उल्टो जनकपुरका विद्यार्थीहरूलाई सिन्धुलीका विद्यालयहरूमा ‘बोर्डस’ गरिन्छ । जनकपुरका मात्रै सयौं विद्यार्थीहरू सिन्धुलीमा मात्रै पढिरहेका छन् भने राजधानी काठमाडौंसहित देशका अन्य शहर र भारतका विभिन्न शहरहरूमा जाने विद्यार्थीको संख्या कम छैन । 

विवाहको लागि शस्त्र

जनकपुरमा प्रमाणपत्रधारीहरूको भने कमी छैन । शैक्षिक प्रमाणपत्र मधेसमा रोजगारीका लागि भन्दा पनि विवाहको लागि महत्त्वपूर्ण मानिन्छ । दाइजोका लागि त्यो एक शस्त्र नै बन्ने गरेको छ । 
जति माथिल्लो तहसम्मको प्रमाणपत्र हुन्छ, बिहेमा बेहुली पक्षबाट पाउने दाइजोको दाबी र प्राप्ति त्यति सहज हुन्छ । बिहे पछि जब जागिरको खोजीमा हुन्छ त्यतिबेला भने त्यो प्रमाणपत्र पेश गरेर जागिर खाने अवस्थामा उनीहरू हुँदैनन् । 

‘अरू कुनै काम नपाएपछि अंग्रेजी विषयमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेको मार्कशिट लिएर शिक्षक पदमा जागिर माग्न दिनहुँ जसो उम्मेदवारहरू आइरहेका हुन्छन्, तर उनैलाई अंग्रेजीमा  निवेदनसमेत लेख्न आउँदैन’ जनकपुरको एक उच्च माध्यमिक विद्यालयका प्राचार्यले बताए ।

मार्कशिट हुँदा हुँदै पनि जब काम गर्न सक्ने योग्यता नभएपछि प्रमाणपत्रधारीहरू राहदानी बाएर खाडी मुलुक जान्छन् । जहाँ उनीहरूले कठोर श्रम गर्छन् । सीप नभएका कारण उनीहरू हेल्पर, सडक निर्माण, कृषि लगायतका काममा जान्छन् । ति काम स्वदेशमा र आफ्नो ठाउँमा भने उनीहरू गर्दैनन् । किनकि उनीहरूसँग स्नातक, स्नातकोत्तर गरेको प्रमाणपत्र र समाजका पढाइको प्रतिष्ठा लुटिने डर हुन्छ । 

आखिर यस्तो अबस्था किन आएको छ ? यसलाई यहाँको समाजले गम्भीरताका साथ सोच्न सकेको छैन । प्रमाणपत्रधारी शैक्षिक बेरोजगार, र अयोग्य प्रमाणपत्रधारी उत्पादन हुनुको पछाडि शैक्षिक माफिहरूको निहीत स्वार्थ र व्यापार रहेको छ । 

निजी क्षेत्रमा सञ्चालित शैक्षिक संस्थाहरूले नियोजित रूपमा जनकपुरको शिक्षालाई धराशायी पारेका छन् । 

मधेस आन्दोलनको आवरणमा पैसाको चलखेल गरेर परीक्षा प्रणालीलाई नै ध्वस्त गराउन शैक्षिक माफिया सफल भए । 

परीक्षाको केन्द्र निर्धारण गर्नेदेखि केन्द्राध्यक्ष र निरीक्षक समेतको चयनकर्तासम्म को रिमोट उनीहरूकै हातमा आएको छ । 

आफू अनुकूलको परीक्षा केन्द्र र केन्द्राध्यक्ष भएसँग विद्यार्थी पास हुने संख्या वृद्धि भयो  । जसलाई देखाएर शिक्षाका व्यापारीले विद्यार्थी आकर्षित गर्न सके । 

शुल्क बढाउँंदै पैसा कमाउने धन्दाको दुष्परिणाम स्वरूप त्यो शैक्षिक प्रमाणपत्र अहिले रद्दी कागजको खोस्टोमा परिणत हुन पुगेको छ ।

२०६३ अघि यस्तो थिएन 

२०६३ साल भन्दा पहिले राराबको परीक्षा यस्तो थिएन । परीक्षामा चिट चोरी गर्ने कुरा त कल्पनासम्म गर्न सक्दैनथे, परीक्षार्थी ।  परीक्षा अत्यन्त नै कडा हुन्थ्यो । परीक्षामा पास मात्र हुने अवस्था आयो भने परीक्षार्थीले नै अर्को वर्ष धेरै नम्बर ल्याउनका लागि उत्तर पुस्तिकाको उत्तर काटेर आउँथे, र अर्कोपटक पुन परीक्षा दिन्थे । 

अतिरिक्त कक्षाका लागि ट्युसन पढ्न जान्थे ।  तर अहिले अवस्था फेरिएको छ, विद्यार्थीहरूले पुस्तक पल्टाएर पढेको पाइँदैन । 

स्नातकोत्तर तहका लागि परीक्षा फारम भर्न आउँदा सम्म कुन कुन विषय हुन्छ भन्ने कुरा पनि थाहा हुँदैन, राराब कलेजमा परीक्षा फाँटका कर्मचारीले नै त्यो कुरा बताइदिनुपर्छ । 

‘थेसिस’ को मोलमोलाइ

स्नातकोत्तर, स्नातकमा विद्यार्थीलाई थेसिस वा केस स्टडी गर्नु पर्ने हुन्छ । तर अधिकांश जसो विद्यार्थीले यसअघि नै अरूले विश्वविद्यालयमा बुझाइसकेको थेसिस वा केस स्टडीलाई फोटो कपी गरेर  बुझाउने गरेका छन् । 
केही शैक्षिक दलालहरू थेसिस विक्रीका लागि पसल नै खोलेर बसेका छन् । १५–२० हजार रुपैयाँ तिरेपछि थेसिस पाइन्छ । 

आफूले बुझाएको थेसिसको ‘टाइटल सब्जेक्ट’ के हो भन्ने कुरा पनि अधिकांश विद्यार्थीलाई थाहा हुँदैन । पहिले थेसिस तयार गर्न महिनौं विद्यार्थी ‘फिल्ड’मा खट्ने गर्थे । गाइडले पनि आवश्यक सहयोग गर्थे । र, विद्यार्थीमा आत्मविश्वास मात्र होइन सन्तुष्टि पनि प्राप्त हुन्थ्यो । तर, अहिले राराब कलेजकै कुरा गर्ने हो भने रिसर्च कमिटीमा नै योग्य प्राध्यापकहरू छैनन्, एक दुई जना बाहेक अरू योग्य नभएको एक प्राध्यापकले बताए ।  उनका अनुसार त्यसका लागि न त प्राध्यापक तालिम लिन चाहन्छन्, लिए पनि भत्ता पकाउने काम मात्रै गर्छन् । त्यस कारणले पनि यस्तो अबस्था आएको उनले सहस्र स्वीकारे ।

अराजकता उन्मुख विद्यार्थी

केही दिनअघिबाट शुरू भएको परीक्षामा भएको अमर्यादित क्रियाकलाप बारे लोकान्तरले निरन्तर समाचार प्रकाशन गरेपछि राराबको परीक्षामा कडाइ गरिएको थियो । त्यसका लागि त्रिविले केन्द्रबाट सहनियन्त्रक अखिलेश कुमार सिंहको अगुवाइमा उच्चस्तरीय पर्यवेक्षक टोलीले जाँचलाई मर्यादित र कडाइ गरे । उनीहरूले अमर्यादित क्रियाकलाप गरिरहेका विद्यार्थीहरूलाई धमाधम कारबाही स्वरूप निष्कासन गर्न थाले । त्यसपछि विद्यार्थीले त्यसको विरोधमा नाराबाजी गरे । उनीलगायतलाई ज्यान मार्ने धम्कीसमेत दिएका छन् । 

विद्यार्थीहरूको मात्रै नभएर परीक्षामा खटिने केन्द्राध्यक्ष,निरीक्षक, कर्मचारी सबैको कालो कर्तुत र गैरजिम्मेवारीपनबारे हामीले निरन्तर खबरदारी गर्दै समाचार सम्प्रेषण गरेका छौं, जसका कारण शैक्षिक गिरोहको कमाइमा रोक लागेको छ । 

विगतमा ४ वर्षअगाडि पनि त्रिविका सह–नियन्त्रक रमेश जोशीको टोली राराबको जाँचलाई मर्यादित बनाउन आएका थिए । तर, उनी फर्कन बाध्य भएका थिए । अहिले पनि सिंहको टोलीलाई काठमाडौं पठाएर पुन: परीक्षालाई अमर्यादित बनाउने समूह सक्रिय भएको छ । तर आफू कुनै पनि हालतमा नफर्कने बताउने सिंहले राराबको परीक्षा पहिलेकै अवस्थामा फर्काउन दाबी गरेका छन् । 

पठनपाठनमा सुधार आवश्यक 

उसो त परीक्षामा अमर्यादित क्रियाकलाप गरे भनेर एकोहोरो विद्यार्थीलाई दोष थोपर्न नमिल्ने परीक्षार्थीहरूको तर्क छ । 

राराब कलेजका प्राध्यापक, शिक्षकले नपठाएको कारण आफूहरूले पास हुनका लागि यस्तो हर्कत गरेको उनीहरूको तर्क छ । 

परीक्षा मर्यादित बनाउन त्रिविले तत्काल एक्सन लिएको जस्तै पठनपाठनलाई पनि व्यवस्थित बनाउन र नियमित क्लासमा शिक्षक आउने व्यवस्था गराउन एक्सनको जरुरी भएको उनीहरूको भनाइ छ । तर निजी कलेजका परीक्षार्थीहरू पनि चिट चोर्न पाइने भएपछि अध्ययनमा गम्भीर देखिएका छैनन् । 

लाखौं विद्यार्थी ज्ञानको प्रकाश पाउनबाट वञ्चित

अहिले प्रदेश नम्बर २ मा मात्रै लाखौं विद्यार्थीहरू ज्ञानको प्रकाश पाउनबाट वञ्चित छन् । ती विद्यार्थीहरू अझैसम्म पनि विद्यालयको पहुँच भन्दा बाहिर छन् । शिक्षा मन्त्रालयको आँकडाले भन्छ, प्रदेश–२ मा विद्यालय जान वञ्चित बालबालिकाको संख्या केलाउँदा धनुषा र पर्सा क्रमशः पहिलो र दोस्रो नम्बरमा आउँछन् । धनुषामा २७ हजार २९७ र पर्सामा २७ हजार १०५ बालबालिका विद्यालयबाहिर छन् । त्यसपछि क्रमशः बारा, सर्लाही, रौतहट, सिरहा, सप्तरी र महोत्तरी जिल्ला आउँछन् ।

शिक्षा मन्त्रालयले एक वर्षअघि गरेको सर्वेक्षणको नतिजा अनुसार प्रदेश–२ का आठ जिल्लामा १ लाख ९१ हजार २२१ बालबालिका विद्यालयभन्दा बाहिरै छन् । जसमध्ये बालिकाको संख्या बालकको तुलनामा धेरै छ । २७ हजार २९७ बालबालिका विद्यालयबाहिरै रहेको धनुषामा उनीहरूलाई विद्यालयमा ल्याउन र टिकाउन युनिसेफ र अन्य गैरसरकारी संस्थाले पछिल्लो तीन वर्षमा रु. १ करोड ८० लाख रुपैयाँ खर्च गरेका छन् । यो अभियानमा जिल्ला शिक्षा कार्यालयले समेत वार्षिक रु. ५ लाख खर्च गर्छ ।

यो पनि पढ्नुहोस्

फलोअप : नेता र पुलिसलाई छुट्टै हलमा परीक्षा, विद्यार्थी निष्कासित गरेपछि होहल्ला र नाराबाजी

लोकान्तर समाचार प्रभाव : अमर्यादित गतिविधि गर्ने १३ परीक्षार्थी निष्कासित

लोकान्तर समाचार प्रभाव : त्रिविको टोली राराबमा, चिट चोर्न नपाएपछि परीक्षार्थीद्वारा नाराबाजी

त्रिविको परीक्षामा मनलाग्दी : चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! [भाग ३]

त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने [भाग २]

नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् [भाग १]

 

 

salt training

कमेन्ट गर्नुहोस्