
काठमाडौँ, १२ चैत— सिंहरदबारस्थित पुरानो संसद् भवन (ग्यालरी बैठक) भूकम्पले चिराचिरा भएको पाइएको छ । जापानी प्राविधिकले हालै गरेको अध्ययनमा भवनको यस्तो अवस्था पाइएको हो ।
भवनको गारो कुनै धेरै फाटिएको छ भने केही चर्केको मात्रै । छत जस्तापाताको छ । थप क्षति हुनलाग्दा समेत पुनर्निर्माणमा चासो नदिइएपछि भवनबाहिर बिरुवा उम्रिएको देखिन्छ । झरी पर्दा भवन चर्किएको भागबाट पानीको धारो नै निस्कने गरेको छ ।
ऐतिहासिक यो भवन बनाउन प्राथमिकता नदिइएको संसद् सचिवालयको आरोप छ । ‘पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयले इतिहास मेटिन लाग्दा पनि बनाउन किन चासो नदिएका हुन्, बुझ्नै सकेनौं,’ सचिवालयका एक कर्मचारीले भने ।
भवनमा भएको क्षतिको पूरै विश्लेषण गरिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ । ‘अध्ययनले उक्त भवन भत्काएर बनाउनुपर्ने देखिएन,’ प्राधिकरणका सहसचिव राजुमान मानन्धरले भने, ‘अब रेट्रोफिट गरेर पुनर्निर्माण गर्ने तयारीमा छांै ।’
कागजी प्रक्रिया यो आर्थिक वर्षमा पूरा गरेर अर्को वर्षदेखि भवन पुनर्निर्माणको काम हुने उनले बताए ।
तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर जबराले विदेशी पाहुनासँग भेटघाट गर्न एक सय २५ वर्षअघि बनाएको यो भवनमा राष्ट्रिय पञ्चायतदेखि ०६४ अघिसम्म संसद् बैठक बसेको थियो ।
ग्यालरी बैठक तत्काल पुनर्निर्माण गर्ने हो भने राष्ट्रिय सभाको बैठक सञ्चालन गर्न सकिने विश्वास संसद् सचिवालयको छ । भवन अभाव भएपछि राष्ट्रिय सभाको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै हुने गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यसअघि एउटा सदन मात्रै सञ्चालन हुँदा १० करोड भाडा तिरे पुग्थ्यो । राष्ट्रिय सभाको बैठकसमेत केन्द्रमै सञ्चालन हुन थालेपछि वार्षिक थप ५ करोड तिर्नुपर्ने भएको छ ।, कान्तिपुरमा खबर छ ।