
डोटी, १३ चैत-सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेल पछिल्लो समय निकै तनावमा छन् । कर्मचारी अभावले जनतासँग गरिएका बाचा पूरा गर्न उनलाई चुनौती बढ्दै गएको छ ।
कामकाज प्रभावित हुँदा सेवाग्राहीको गुनासो दैनिक चर्कंदै गएको छ । ‘कर्मचारी पठाउन हारगुहार गरे पनि कसैले सुनेन । आफ्नो पद नै अहिले निल्नु न ओकल्नु भएको छ,’ उनले भने ।
कर्मचारी अभावमा डुम्रेलको सायल गाउँपालिका वडा नं. ६ का सचिव लालबहादुर बोगटीले वडा नं. ४ का साथै गाउँपालिकाको प्रशासकीय अधिकृतको भूमिका पनि निर्वाह गरेका छन् । एकै कर्मचारीको थाप्लोमा दुई वडा र गाउँपालिकाको समेत काम थोपरिएको छ ।
‘जनप्रतिनिधि नभएका बेला पनि ४÷५ गाविस एक्लैले धानेका थियौं, उहाँहरू आउँदा पनि जिम्मेवारी उस्तै छ,’ बोगटीले भने, ‘वडाको काम गर्दा गाउँपालिकाको काम ठप्प, गाउँपालिकाको गर्दा वडाको ठप्प भइरहेको छ । तर पनि भ्याएजति पूरा गरिरहेका छौं ।’
सायल गाउँपालिकामा रहेका ६ वडा कार्यालयको काम बोगटीसहित अन्य तीन वडा सचिवले गर्दै आएका छन् । यसै सातामात्र वडा नं. २ र ३ का सचिव योगेन्द्र शर्माको सरुवा हुँदा गाउँपालिका अध्यक्ष डुम्रेल झन् तनावमा छन् ।
यस्तो परिस्थिति सायल गाउँपालिकाको मात्र होइन । अधिकांश स्थानीय तहले बेहोरिरहेका छन् ।
‘कर्मचारी व्यवस्थापन नहुँदा कामले गति लिएकै छैन’, डोटी क्याम्पसका प्राध्यापक डण्डीराज ओझाले भने, ‘जनप्रतिनिधि नै कर्मचारी र नियम कानुन स्पष्ट नहुँदा तनाव झेलिरहेका छन् ।’
बड्डीकेदार गाउँपालिकामा पनि वडा सचिवले प्रशासकीय अधिकृतको काम गरिरहेका छन् ।, कान्तिपुरमा खबर छ ।