
राजविराज, १३ चैत-सप्तरीको शम्भुनाथ नगरपालिकालाई एक समाराहेका बीच खुला दिसामुक्त र पूर्ण खोप युक्त नगरपालिका घोषणा गरिएको छ ।
सप्तरीको कठौनामा सोमबार आयोजित खुला दिसामुक्त र पूर्णखोपयुक्त नगरपालिका घोषणा कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले शौचालय प्रयोगले इज्जत र सम्मान बढ्ने भएकाले यसको नियमित प्रयोग हुनुपर्ने बताउनुभयो ।
साथै चर्पी प्रयोगले स्वास्थ्यमा समेत समस्या कम हुनाले पनि आर्थिकरुपले सबल हुँदै जाने बताउँदै आफ्नै इज्जत, प्रतिष्ठा र स्वास्थ्यका लागि पनि सबैलाई चर्पी प्रयोग गर्न र नियमित खोप लगाउन समेत उहाँले आग्रह गर्नुभयो ।
शम्भुनाथ नगरपालिकाका उपप्रमुख कविता सरदारको अध्यक्षतामा आयोजित समारोहमा नेपाल पत्रकार महासंघ, सप्तरीका सदस्य बृजमान तामाङ, शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, नेपाली काँग्रेसका नेता सबुरलाल साह, शम्भुनाथ नगरपालिका–६ का वडाध्यक्ष मो. याकुब राईनलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेयले ब्यानर वाचन गरी शम्भुनाथ नगरपालिकालाई पूर्णखोप र खुला दिसामुक्त नगरपालिका घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका प्रमुख रामाधार यादव, अनुसन्धान विभागका प्रहरी उपरीक्षक देवराज लिम्बू, जिल्ला समन्वय समिति, सप्तरीका वरिष्ठ कार्यक्रम अधिकृत नवराज खड्कालगायतको उपस्थिति रहेको थियो ।