३० जेठ २०८३, शनिबार

बन्द भएको १० वर्षपछि यसरी जले काठमाडौंका ट्राफिक लाइट

बन्द भएको १० वर्षपछि यसरी जले काठमाडौंका ट्राफिक लाइट

काठमाडौँ, १३ चैत– एक दशकपछि काठमाडौँ उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा आएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ महानगरपालिकाको सक्रियतामा ११ वर्षपछि आजदेखि ट्राफिक बत्ती सञ्चालनमा आएको हो । नयाँ बानेश्वर, नारायणगोपाल चोक, पद्यमोदय मोड, शंकरदेव मोड, नारायणहिटी दक्षिण गेट, काठमाडौँ महानगरपालिका सुन्धारा र सोल्टीमोड चोकमा ट्राफिक बत्ती सञ्चालन गरिएको हो । 

विसं २०७१ मंसिरमा नेपालमा भएको १८ औँ सार्क शिखर सम्मेलनको समयमा प्रयोगमा आएपनि उक्त ट्राफिक बत्ती राम्रोसँग सञ्चालनमा हुन सकेको थिएन । २०६३ सालदेखि उपत्यकामा ट्राफिक बत्ती सञ्चालनमा थिएन । 

नयाँ बत्तीमध्ये नयाँ बानेश्वर चोकको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल र नारायणगोपाल चोकको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले रिमोर्ट थिचेर उद्घाटन गरे । 

यार्सा टेक्नोलोजी प्रालिले नेपाली प्रविधिमा निर्माण गरेको उक्त बत्ती वायरलेस प्रविधि जडान गरिएको छ । बत्ती स्वचालित र रिमोर्ट दुबै तरिकाले सञ्चालन गर्न सकिन्छ । 

प्रालिका इन्जिनियर सिद्दिक अन्सारी व्यस्त समय र सामान्य समयलाई लक्षित गरेर उक्त बत्ती निर्माण गरिएको बताउँछन् । “व्यस्त समयलाई ४५ सेकेण्ड र सामान्य समयलाई ३० सेकेण्डमा सवारी पार गर्ने गरी प्रविधिको जडान गरिएको छ,” उनी भन्छन् । व्यस्त समयमा अझै समय घटाउन सकिने उनको भनाइ छ । 

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नयाँ बानेश्वरको पुनःनिर्माण र नारायणगोपाल चोकको नयाँ निर्माण गरिएको हो । 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्मा सडक विभागबाट बत्ती बनाउने जिम्मा भर्खरमात्र महानगरपालिकाले पाएको भन्दै यसको औचित्य र आवश्यकता हेरेर अरु स्थानमा थप्ने बताउँछन् । “पहिले बनाएको बत्तीले कत्तिको काम गर्छ त्यो हेरेर अरु बत्तीहरु क्रमशः निर्माण गर्दै लैजान्छौँ,” उनले भने । 

नयाँ बानेश्वर चोकको पुनःनिर्माणका लागि रु १५ लाख र नारायणगोपाल चोकको नयाँ निर्माणका लागि रु २५ लाख लागत लागेको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल ट्राफिक बत्तीको सुरुवातसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा सहज हुने बताउनुहुन्छ । “प्रविधिको प्रयोगसँगै ट्राफिक जनशक्ति कम लाग्ने र काममा समेत सहज आउनेछ,” उनले भने । 

महाशाखाका प्रमुख खनाल अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती लैजाने गरी सबै निकायसँग महाशाखाले समन्वय गर्ने बताउँछन् । 

महाशाखाले ललितपुरका विभिन्न चोकहरुमा समेत ट्राफिक बत्ती राख्न ललितपुर महानगरपालिकासँग सम्झौता गरेर काम गरिरहेको छ । केही दिनभित्रै ललितपुरमा समेत ट्राफिक बत्ती सञ्चालनमा आउने महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्