आप्रवासीलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिलाई सारा विश्वमा उथलपुथल मच्चिएको छ । गत साता मात्र उनले सात मुस्लिम बाहुल्य देशका सबै नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाए । केही अरू देशको नाम पनि यो सूचीमा थपिने आशंका छ । अमेरिकालाई सुरक्षित बनाउन यो कदम उठाउनुपरेको ट्रम्पको दाबी छ । तर, अमेरिकाको विगत हेर्ने हो भने यो देश यस्ता दिग्गजहरूको भरिएको छ जो बाहिरबाट गएका थिए । उनीहरूले आफ्नो बुताको बलमा विश्वमै नाम कमाए । यस्तोमा प्रश्न उठिरहेको छ, ट्रम्प पहिले नै राष्ट्रपति बनेका हुन्थे भने र यसप्रकारको नीति पहिले नै लागू भएको भए यी दिग्गजहरूको स्थिति के हुन्थ्यो होला ? अमेरिकामै जन्मे–हुर्केका ठूला नेता तथा विद्वान्हरू भन्छन्– अमेरिकालाई ‘महान्’ बनाउने मानिसहरूमध्ये कैयौँ यस्ता छन् जो मूलका हिसाबले अमेरिकी थिएनन् र बाहिरबाट गएर त्यहाँ बसेका थिए । त्यस्ता केही दिग्गज यसप्रकार छन्ः

अल्बर्ट आइन्स्टाइन
सापेक्षताको सिद्धान्तका प्रवर्तक तथा महान् वैज्ञानिक आइन्स्टाइनको जन्म १८७९ मा जर्मनीमा भएको थियो । तर, उनले पछि अमेरिकालाई घर बनाए । फेबु्रअरी १९३३ मा उनी अमेरिका भ्रमणमा गएका थिए । जर्मनीमा एडोल्फ हिटलरको बढ्दो प्रभुत्वका कारण कुनै पनि समय देशमा बस्न नपाउने हो कि भन्ने उनलाई लाग्थ्यो । कैयौँ वर्ष विभिन्न देशमा बसेपछि अन्ततः १९४० मा उनी अमेरिकाको नागरिक बने । १९५५ मा उनले अमेरिकाको न्यु जर्सीमा देहत्याग गरे ।
म्याड्लिन अलब्राइट
पूर्व चेकोस्लोभाकियाको प्रागमा जन्मेकी म्याड्लिन अलब्राइट पछि अमेरिका पुगिन् । राजनीतिमा सक्रिय हुँदै सफलता हात पार्दै १९९६ मा अमेरिकाको विदेशमन्त्री भइन् । बिल क्लिन्टनले उनको नाम प्रस्ताव गर्दा सिनेटका सबै ९९ सदस्यले नै अनुमोदन गरेका थिए । १९४८ मा उनको परिवार अमेरिका पुगेर राजनीतिक शरण मागेको थियो ।
सलमा हायक
ट्रम्प मेक्सिकोको सीमामा पर्खाल लगाउने भनिरहेका छन् । तर, प्रख्यात नायिका सलमा हायक त्यहीँबाट आएकी हुन् । हायकको जन्म मेक्सिकोको वेराक्रुजमा भएको थियो । उनी १९९१ मा कलासम्बन्धी अध्ययन गर्न अमेरिका पुगेकी थिइन् ।
ज्याकी च्यान
हलिउडका चर्चित नायक ज्याकी च्यानको जन्म चीनको हङकङमा भएको हो । कंग्फु तथा हास्य चलचित्रका लागि विश्वमै चर्चित च्यानले एक सय ५० भन्दा धेरै हलिउड चलचित्र खेलिसकेका छन् । उनलाई हलिउड वाक अफ फेममा स्थान दिइसकिएको छ ।
स्टिभ जब्स
मोबाइल फोनको दुनियाँमा आइफोनका स्थानबारे धेरै जानकार छन् । संसारकै सबैभन्दा मूल्यवान् कम्पनीमध्ये एक तथा सबैभन्दा चर्चित फोन निर्माता कम्पनी एप्पल अमेरिकाकै सान मानिन्छ । तर, बाहिर जन्मेका मानिस अमेरिकामा बस्न पाउँदैनथे भने यो कम्पनीको के हुन्थ्यो होला ? किनकि, त्यो कम्पनी खडा गर्ने स्टिभ जब्स सिरियाली आप्रवासीका पुत्र हुन् ।
जोसेफ पुलित्जर
विश्वमै सबैभन्दा महान् प्रकाशक मानिने जोसेफ पुलित्जरको जन्म हंगेरीमा भएको थियो । उनी १८६४ मा अमेरिका पुगेका थिए जति वेला उनी केवल १७ वर्षका थिए । पछि, उनी डेमोक्रेटिक पार्टीका ठूला नेता पनि बने । भ्रष्टाचारविरुद्ध उनले उठाएको आवाज अहिले पनि बारम्बार उद्धृत गरिन्छ ।
-नयाँ पत्रिकाबाट