
विराटनगर, १६ चैत– नेपाल पत्रकार महासंघको ६३ औं स्थापना दिवसको अवसरमा मोरङमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई बनाइएको थियो ।
बिराटनगरस्थित मोरङ व्यापार संघको सभाहलमा दिउँसो ३ बजे शुरु हुने भनिएको कार्यक्रम मुख्यमन्त्री राईको पर्खाइमा झण्डै डेढ घण्टा ढिला भयो । अन्तिम समयमा पनि मुख्यमन्त्री नआइपुगे पछि प्रमुख अतिथि बिनै कार्यक्रम सकियो ।
मुख्यमन्त्री आउलान् र पुरस्कार बाँडौला भनेर पर्खि बसेका आयोजकले अन्तिम समयमा आएर प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीलाई विशिष्ट अतिथि बनाए । कार्यक्रमका विशिष्ट अतिथि सुचना आयोगकी आयुक्त यशोदा तिमल्सिना र हिक्मत कार्की लगायतले पुरस्कार बितरण गरेका थिए ।
तर वितरण गरिएको प्रमाणपत्रमा भने प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री राईले नै हस्ताक्षर उल्लेख थियो । कार्यक्रममा प्रदेश सरकारका सबै मन्त्रीहरुको उपस्थिती रहेको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, पर्यटन उद्योग वन वातावरण मन्त्री जगदीश कुसियैत लगायतका मन्त्रीहरु पनि सहभागी थिए ।

किन आएनन् ?
मोरङको उर्लावारीमा आज एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारी आउने कार्यक्रम थियो । उक्त कार्यक्रममा जानुपूर्व नै मुख्यमन्त्री राईले पत्रकार महासंघको कार्यक्रममा समयमै पुग्ने बताएका थिए । अन्तिम समयसम्म पनि आईपुग्ने बताउँदै आएका मुख्यमन्त्री राई साँझ हुनै लाग्दा सम्म पनि नपुगेपछि पत्रकार महासंघले पुरस्कार वितरण कार्यक्रम अगाडि बढायो ।
तर पछि मात्र थाहा भयो कि मुख्यमन्त्री राई त राष्ट्रपति बिद्यादेवी भण्डारी सहभागी कार्यक्रमबाट फर्किएर पुनः अर्कै कार्यक्रममा पो सहभागी हुन गएछन् । मुख्यमन्त्री राईले नै झुक्याएपछि प्रदेश १ का पत्रकारहरु निकै रुस्ट बने । कार्यक्रम सकिएपछि भन्दैथिए, यसरी मुख्यमन्त्रीले झुक्याएको ठीक लागेन ।