
काठमाडौं, १७ चैत–सरकारले लामो समयदेखि थिग्रिएर रहेका अर्थतन्त्रका संरचनात्मक समस्याको समाधान कुनै एक पक्षको पहलबाट सम्भव नभएको भन्दै सहयोगको अपिल गरेको छ । देशको वर्तमान आर्थिक स्थिति सम्बन्धमा अर्थमन्त्री डा युवराज खतिवडाले जारी गरेको श्वेतपत्रबारे जानकारी दिन शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहयोगको अपेक्षा गरिएको हो ।
अर्थमन्त्री डा खतिवडाले भने, “मुलुकको अर्थतन्त्रमा लामो समयदेखि विद्यमान संरचनात्मक समस्याको समाधान एउटै निकाय, संस्था वा तहबाट मात्र सम्भव छैन, राज्यका सबै जिम्मेवार तह, संस्था, पदाधिकारी र आम नागरिकको सहकार्यबाट समस्या एवं चुनौतीको सामना गर्न सकिन्छ, यसमा सबैको सहयोगको अपेक्षा सरकारले गरेको छ ।”
मुलुकको समृद्धिका लागि आन्तरिक स्रोत र निकाय मात्र पर्याप्त नभएको बताउँदै अर्थ मन्त्री डा खतिवडाले अन्तर्राष्ट्रिय लगानी र एवं सहयोगलाई परिचालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य प्राप्त गर्न सकिने धारणा राखे ।
सरकार गठन हुँदाको अवस्थामा नेपालको अर्थतन्त्र निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले भने, “वित्तीय क्षेत्रको पुँजी परिचालन आर्थिक वृद्धिसँग प्रत्यक्ष जोडिन सकेको छैन, पुँजी निर्माणका काम सुस्त छन्, राज्यले प्रदान गर्नुपर्ने आधारभूत सेवाको गुणस्तर कमजोर छ र बजेट अनुशासन उल्लंघन भएका कारण सरकारी ढुकुटी लगभग रित्तो छ ।”
राष्ट्र सेवकको कर्तुत- गत साउन ६ गते ९शुक्रवार० अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका अधिकृत चक्रबहादुर श्रेष्ठलाई घुससहित पक्राउ गर्यो । चांगुनारायण नगरपालिका–७ बागेश्वरीको जग्गा कित्ताकाट गरी बाटो राखेर प्लट मिलान गर्ने कामका लागि ५० हजार रुपैयाँ घुस लिँदै गर्दा श्रेष्ठ अख्तियारको फन्दामा परे ।
भक्तपुरको कौशलटारस्थित वेभ सेकुवा कर्नरमा सेवाग्राहीबाट घुस लिँदै गर्दा अधिकृत श्रेष्ठसहित नायव सुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेललाई पनि पक्राउ गर्यो । चालू आर्थिक वर्ष २०७४/७५ को शुरुवातमै अधिकृत तहका सरकारी अधिकृतलाई घुसहित रंगेहात पक्राउ गरेको अख्तियारले फागुन महिनासम्म ८८ जना कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।
अख्तियारको स्टिङ अपरेसनका क्रममा २ जना सह–सचिवसहित विभिन्न तहका ८८ जना ‘राष्ट्रसेवक’ कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा २ जनासहसचिव सहित ३ जना उपसचिव, ८ जना शाखा अधिकृत, ४ जना इञ्जिनियर, २७ जना नायव सुब्बा, १० जना प्राविधिक नायव सुब्बा, ५ जना खरिदार र २७ जना अन्य तहका कर्मचारी छन् ।
अख्तियारले १ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) र १ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई पनि घुससहित रंगेहात पक्राउ गरेको जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षका ८ महिनामा ८८ जना कर्मचारीलाई पक्राउ गरेको छ । ती कर्मचारीले ७५ लाख बराबरको घुसखोरी गरेको अख्तियारको ठहर छ ।
अख्तियारले ८८ जना कर्मचारीविरुद्ध ५६ वटा मुद्दा दर्ता गरी ७५ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ ।
प्रधानमन्त्री ओली २३ गते भारत जाने– प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चैत २३ बाट हुने भएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओली २३ गते भारतको राजकीय भ्रमणमा जाने र २५ गते फर्कने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्ने बताइएको छ ।
श्वेतपत्रपछि लगानीकर्ता आशावादी- सरकारले जारी गरेको श्वेतपत्रमा पूँजी बजारलाई गरेको सम्बोधनले लगानीकर्ताहरू आशावादी देखिएका छन् । वाम गठबन्धनको सरकार बनेपछि दिनहुँ बजार ओह्रालो लागिरहेको शेयर अब सुधार हुने लगानीकर्ताहरूको आशा छ ।
लगानीकर्ता दीपेन्द्र अग्रवालले सरकारको आधिकारिक अर्थनीति आइनसक्दै शेयर बजारमा तरंग पैदा भए पनि श्वेतपत्रले स्पष्ट रूपमा सम्बोधन गरेकाले बजारमा सकारात्मक सन्देश गएको बताए ।
श्वेतपत्रमा नेपालको पूँजी बजार सतही रहनुका साथै दायरा संकुचित रहेको उल्लेख गरिएको छ । श्वेतपत्रमा उल्लेख छ, ‘पूँजी बजारमा हाल २०८ कम्पनी सूचिकृत रहे पनि तीमध्ये ७५ प्रतिशत वित्तीय संस्थाहरू छन् ।
विदा कटौतीप्रति सांसदहरुको आपत्ति– सरकारले प्रजातन्त्र दिवस र शहीद दिवसको दिनमा दिइने सार्वजनिक विदा कटौती गरेकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सार्वजनिक विदा कटौतीको नाममा सरकारले प्रजातन्त्र दिवसको विदा कटौती गरेको भन्दै आपत्ति जनाए ।
बैठकलाई सम्बोधन गर्दै सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न भारत भ्रमणको एजेण्डावारे सदनमा जानकारी गराउन माग गरे । प्रधानमन्त्रीले भारत भ्रमण गर्न लागेको कुरा पत्रपत्रिका मार्फत थाहा पाएको भन्दै सत्तारुढ माओवादी केन्द्रका सांसद प्रभु साहले सदनलाई जानकारी गराउन माग गरेका हुन् ।
अध्यादेश स्वीकृत– प्रतिनिधिसभाको शुक्रबारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ लाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
त्यस्तै बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ प्रस्तुत गर्नुभयो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ प्रस्तुत गरे ।
अस्थायी शिक्षकको परीक्षा पाँचौ पटक स्थगित– शिक्षक सेवा आयोगले यही चैत २३ गते तोकेको अस्थायी शिक्षकको परीक्षा पाँचाँै पटक स्थगित गरेको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै पाँचौ पटक परीक्षा स्थगित गरेको जनाएको हो ।
परीक्षाको अन्तिम तयारी पुरा गरिसकेको अवस्थामा परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको पत्र प्राप्त भएकाले बाध्य भएर परीक्षा स्थगित गर्नुपरेको आयोगका अध्यक्ष ताना गौतमले बताए । आयोगले अस्थायी शिक्षक (प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तह)को परीक्षा चैत २३ गतेका लागि तोके पनि विभिन्न विद्यार्थी संगठनहरू र शिक्षक संगठनहरूले विरोध गर्दै आएका थिए ।
खड्काको पार्थिव शरीर नेपाल ल्याउने तयारी– नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको पार्थिव शरीरलाई नेपाल ल्याउने तयारी भइरहेको छ । मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा शुक्रबार निधन भएको हो ।
उनको पार्थिव शरीर नेपाल ल्याइएपछि पार्टीले श्रद्धाञ्जलिका लागि काँग्रेस केन्द्रीय कार्यालयमा राख्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
डीपीएलको ट्रफी सार्वजनिक– धनगढी प्रिमियर लिग (डीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । शनिबारदेखि धनगढीमा आयोजना हुने प्रतियोगिताको शुक्रबार खेल मैदानमा पत्रकार सम्मेलन गरी विजेता टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरिएको हो ।
डीपीएलको उद्घाटन खेल टिम चौराहा धनगढी र काठमाडौं गोल्डेनबीच हुने आयोजकले जानकारी दिएको छ ।