२४ जेठ २०८३, आइतबार

चौरमा सुतेर ढुंगाको सिरानी बनाउन सक्नेलाई रारामा निम्तो !

चैत १७, २०७४
चौरमा सुतेर ढुंगाको सिरानी बनाउन सक्नेलाई रारामा निम्तो !

सुर्खेत, १७ चैत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रकृतिसँग संघर्ष गर्ने मन भएका ‘साहसी’ पर्यटकलाई कर्णालीको रारा आउन निम्ता दिएका छन् । 

शनिबार कर्णाली–रारा पर्यटन वर्ष २०७५ को बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले भौतिक पूर्वाधार विनै रारा आउने पर्यटकहरु साहसी भएको बताए ।

‘यहाँ भौतिक पूर्वाधारको अभाव छ ।’ उनले भने, ‘चौरमा सुत्ने, ढुंगाको सिरानी बनाउन सक्ने हिम्मतदार पर्यटकलाई रारा आउन निम्तो दिन्छु ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश आफैंमा अनुपम पर्यटकीय क्षेत्र भएको बताउँदै कर्णाली पर्यटन वर्षले जनतालाई आत्मनिर्भर बनाउन र गरिबी घटाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

‘प्रधानमन्त्रीले राराबाटै देशबासीको नाममा सम्वोधन गर्नुहुनेछ । अब देश समृद्धिको यात्रामा अघि बढ्यो बढ्यो ।’ मुख्यमन्त्री शाहीले भने, ‘पर्यटन र पूर्वाधार विकास हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’ भौतिक पूर्वाधार बनाउँला अनि पर्यटक ल्याउँला भनेर बसेको खण्डमा हामी पछि पर्छौ भन्दै गाडी नपुगेको ठाँउमा पनि पथ मार्ग बनाएर पर्यटकलाई आकर्षित गराउने योजना रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले यो वर्षदेखि रारा लगायत अन्य पर्यटकीय गन्तब्यका लागि रुटहरु बनाउने, प्रचार प्रसार गर्ने र आवश्यक प्रर्वद्धनातमक कार्यक्रमहरु गरिने जानकारी दिए । यसका साथै प्रदेश भरि लुकेर रहेका सम्पदा, क्षेत्रहरुलाई पर्यटन गन्तब्य बनाउन खोज तथा अनुसन्धान समेत गरिने उनको भनाइ थियो ।

मुख्यमन्त्री शाहीले आगामी वैशाख १ गते रारामा टेलिफोन सेवा सुचारु गरिने र इन्टरनेटको समेत व्यवसथा गरिने बताए । ‘पत्रकार तथा अन्यका लागि रारामा वल्र्ड लिंकले इन्टरनेटको व्यवस्था गर्दैछ ।’ उनले भने, ‘टेलिफोनका लागि पनि नेपाल टेलिकमले केहि न केहि व्यवस्था गर्नेछ ।’

कर्णाली–रारा पर्यटन वर्ष २०७८५ का प्रचार प्रसार प्रमुख एवम सामाजिक विकास मन्त्री दल रावलले वैशाख १ गते प्रधानन्मन्त्री, मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरुलगायतको सहभागिता रहने जानकारी दिए । यसका साथै प्रदेश सरकारको तेस्रो क्याविनेट बैठक समेत रारामा आयोजना गरिने उनको भनाइ छ । ‘हामीले तेस्रो वैठक रारामा आयोजना गर्ने भएका छौं ।’ मन्त्री रावलले भने, ‘प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा वैठक बस्ने छ ।’

मन्त्री रावलले विगतमा वर्षिक रुपमा ५० हजार पर्यटक रारा जाने गरेको बताउँदै सरकारले आगामी वर्ष ५ लाख पर्यटक पु¥याउने लक्ष्य राखेको जानकारी दिए । ‘पर्यटकमैत्री यात्रा र बसोबास बनाउन प्रदेश सरकार ठोस योजना बनाउन तयार छ ।’ मन्त्री रावलले भने, ‘यस अभियान अन्र्तगत यातायात, होटल व्यवसाय, पथ प्रदर्शन सेवा, अतिथि सत्कार, पद यात्रा, साहसिक यात्रा, होमस्टेसम्बन्धी स्थानीयलाई प्रोत्साहन गरिनेछ ।’

पत्रकार सम्मेलनमा भौतिक योजना मन्त्री खड्क खत्रीले सुर्खेत देखि दैलेखको दहिखोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले कर्णाली राजमार्गमा रहेका खाल्डा पुर्ने काम सुरु गरेको छ भने दहिखोला देखि रारासम्म सडक डिभिजन कार्यालय जुम्लाले मर्मत गरिरहेको बताए । उनले प्रदेश सरकारको पहिलो प्राथमिकतामा पहुँच मार्ग निर्माण रहेको जानकारी दिए ।

लोगो र नारा सार्वजनिक

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पर्यटन वर्षको लोगो र नारा सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शाहीले ‘कर्णाली समृद्धिको आधारः पर्यटन र पूर्वाधार’ भन्ने नारा सार्वजनिक गरेका छन् भने कर्णाली रारा पयृटन वर्ष २०७५ लेखिएको राराताल र हिमालय अनि आधा सुर्य उदाएको चिह्न सहितको लोगोसमेत सार्वजनिक गरेका हुन ।

कर्णाली प्रदेश सरकारले आगामी वैशाख १ गते राराबाट पर्यटन वर्षको उद्घाटन गर्दैछ । उदघाटन गर्न प्रधानमनत्री केपी शर्मा ओली आउने भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्