धनगढी, १७ चैत- कैलालीको धनगढीमा आजबाट शुरु भएको दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं गोल्डेन्सले विजयी शुरुवात गरेको छ ।
काठमाडौंले सोमपाल कामी नेतृत्वको टीम चौराहा धनगढीलाई ७ विकेटले पराजित गर्यो ।
धनगढीले प्रस्तुत गरेको १४६ रनको विजयी लक्ष्य भेट्टाउने क्रममा ओपनिङ ब्याट्सम्यान अमित श्रेष्ठले अविजित ८१ रनको योगदान गरे । उनका अलावा नरेश बुढाऐरले अविजित २४, जयकिसन कोल्सावालाले १६, कप्तान ज्ञानेन्द्र मल्लले १० तथा सन्नी पटेलले ७ रनको योगदान गरे ।
धनगढीका लागि संसाद शेखले २ तथा सुनिल धमलाले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन जोडेको थियो । उसका लागि सुनिल धमलाले ६८, शंकर रानाले ३६ तथा राजु रिजालले अविजित ११ रन जोडेका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
काठमाडौंका लागि सहाव आलमले ह्याट्रिक लिए । उनका अलावा रसिद खान, सन्नी पटेल र किशोर महतोले १/१ विकेट लिए ।