
काठमाडौं, १८ चैत– कांग्रेस नेता खुमबहादुर खड्काको आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ । मिर्गौला, छाती र नसाको समस्याले शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएका खड्काको शवलाई शनिबार राति काठमाडौं ल्याइएको थियो ।
भारतबाट ल्याइएको शव सानेपास्थित खड्काको घरमा राखेपछि आइतबार बिहान ९ देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेसले जनाएको छ । त्यसपछि पशुपति आर्यघाटमा उनको दाहसंस्कार हुनेछ ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत खड्काका छोरा अनुराग आइतबार बिहान काठमाडौं फर्किएपछि दाहसंस्कार गर्ने तयारी गरिएको हो ।
केन्द्रीय समिति बैठक स्थगित
९ चैतदेखि चलेको कांग्रेस निर्वाचन समीक्षा बैठक स्थगित भएको छ । पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य खड्काको निधन भएपछि आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक स्थगित भएको हो ।
शानिबार विज्ञप्ति जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि चुनावी समीक्षाको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।