
धनगढी, १९ चैत– कैलालीको गोदावरी नगरपालिका–३ स्थित रोयल मल्टी लुक्स प्रालिले उत्पादन गर्दै आएको रेडियन्ट ग्यासले वस्ती जोखिममा परेको भन्दै स्थानीयहरुले स्थानान्तरणको माग गरेका छन् ।
स्थानीयहरुले संघर्ष समिति गठन गरी आज (आइतबार) स्थानान्तरण गर्नुपर्ने माग गर्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
स्थानीयहरुले आफूहरुलाई झुक्याएर तथा वातावरणीय प्रभाव मूल्यांकन नै नगरी उद्योग स्थापना गरेको दाबी गरेका छन् । समितिका संयोजक धुव्र भट्टराईले उद्योगबाट निस्कने ग्यास सोझै मानव वस्तीमा गइरहेको बताए ।
करिब १० वर्ष पहिले उद्योग रहेको २ विघा जग्गा भावना मेडिकल कलेजको स्वामित्वमा रहेको स्थानीयहरुको दाबी छ । कलेज स्थापना हुने भनेर आफूहरु आशावादी भएको तर केही समयमै उद्योग सञ्चालन गरेको कुरा थाहा पाएको संयोजक भट्टराईको भनाइ छ ।
त्यस्तै, उद्योग स्थापनाको लागि जग्गाको साँधियारहरुसँग समेत कुनै सहमति नलिएको स्थानीयहरुले आरोप लगाएका छन् । उद्योगको उत्तर पट्टी जग्गा रहेका पदमराज भट्टले आफूहरु संग कूनै सल्लाह नै नगरी उद्योग सञ्चालन गरेको दावी गरे ।
उद्योगको दक्षिण नारायण बिष्टको जग्गा रहेको छ । भने पूर्वमा श्यामबहादुर खत्रीको र पश्चिममा टेक साउदको रहेको जनाइएको छ ।
स्थानीयहरुले वस्तीका साथै सञ्चालनमा रहेको खप्तड विद्या निकेटन र उद्योगबीचको दुरी ५० मिटर मात्रै रहेको बताएका छन् । जसले गर्दा विद्यालय पनि जोखिममा रहेको उनीहरुले बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले उद्योगवारे छानविन गरिेने बताए ।
उता उद्योगका प्रबन्ध निर्देशक दिवान चन्दले सवै प्रक्रिया पूरा गरेर उद्योग सञ्चालन गरेको बताएका छन् । उद्योग स्थापनाको लागि ०६५ साल भदौ २७ गते अन्नपूर्ण पोष्टमा सार्वजनिक सूचना जारी गरी प्रक्रिया सुरु गरेको उनले बताए ।
साथै वातावरणीय प्रभाव मूल्यांकनको लागि तत्कालिन मालाखेती गाविसको कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा निश्चित अवधीको सूचना टाँस गरेको र ति कार्यालयहरुले कुनै उजुरी नपरेपछि सञ्चालनको लागि अनुमति दिएपछि मात्रै सञ्चालन गरेको दाबी गरे ।
स्थापना भएको नौ वर्ष पूरा हुँदासम्म नबोल्ने तर हालआएर उद्योगको विरोध गर्नु रहस्मय रहेको समेत प्रबन्ध निर्देशक चन्दले टिप्पणी गरे ।