काठमाडौं, २० माघ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले शरणार्थी सम्झौताका विषयमा भएको टेलिफोन वार्ताका क्रममा झगडा गरेको रिपोर्ट आएको छ ।

द वाशिङटन पोस्ट पत्रिकाका अनुसार ट्रम्पले दुई देशका बीच भएको द्विपक्षीय शरणार्थी सम्झौताका विषयमा टर्नबुलको आलोचना गरे अनि अचानक फोन काटिदिए । अस्ट्रेलियालाई अमेरिकाको निकट सहयोगी मानिन्छ ।
ट्रम्पले आलोचना गरेको रिपोर्ट सार्वजनिक भएपनि बिहीवार टर्नबुलले दुई देशबीचको सम्बन्ध मजबुत नै रहेको बताए । रिपोर्टका बारेमा प्रश्न सोध्दा उनले टिप्पणी गर्न मानेनन् ।
अस्ट्रेलिया घुस्न खोजेका विभिन्न देशका लगभग सोह्र सय शरणार्थीलाई नाउरु र पपुआ न्युगिनीका शिविरमा राखिएको छ । अमेरिकाको ओबामा प्रशासनले यी शरणार्थीलाई शरण दिने योजना बनाएको थियो । टर्नबुलले सोमवार यसको स्मरण गराएका थिए ।
सात देशका शरणार्थीलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएका ट्रम्प अस्ट्रेलियाका शरणार्थी पनि अमेरिका आउन पाउनुपर्ने संकेत सुनेपछि रिसाएका हुन् । आफूलाई मन नपरेको कुरामा झगडा गरिहाल्ने ट्रम्पको स्वभाव छ ।
एजेन्सीको सहयोगमा