लोकान्तर संवाददाता
काठमाडौं, २० माघ –उपभोक्ता अधिकारकर्मीले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्वि फिर्ता लिन माग गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चले बिहीवार एक विज्ञप्ती जारी गर्दै मूल्यवृद्वि तत्काल फिर्ता लिन माग गरेको हो ।

सरकारले बिहीवार खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्वि गरेको थियो । यसअघि प्रतिसिलिण्डर १३ सय २५ रुपैयाँ मूल्य रहेको एलपी ग्यासको मूल्य बिहीवारदेखि १३ सय ५० रुपैयाँ पुगेको छ ।
मूल्यवृद्वि गरेर सरकारले उपभोक्ता बजारलाई अस्थिर पार्न खोजेको आरोप मञ्चको छ ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रतिव्यारेल ५० डलरको हाराहारीमा स्थिर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा गरिएको मूल्यवृद्वि जायज नभएको मञ्चको ठहर छ ।
खाना पकाउने ग्यासमा घाटा भए पनि अन्य पेट्रोलियम पदार्थमा उच्च नाफा रहेकाले मूल्यवृद्वि अस्वभाविक रहेको मञ्चले जनाएको छ ।
‘विगत दुई वर्षदेखि अत्यधिक नाफामा चलिरहेको निगमले २ सय रुपैयाँसम्म घाटामा बेच्न सकिने खाना पकाउने ग्यासमा अहिले मूल्य बढेको बहानामा मूल्य बढाउनु आम उपभोक्तालाई चरम शोषण गरी कर्मचारीलाई बोनस बाँड्ने षड्यन्त्रबाहेक अरु केही हुन सक्दैन,’ मञ्चले भनेको छ ।