
सुर्खेत, २१ चैत- शैक्षिक भ्रमणमा वीरेन्द्रनगर आएका सल्यानका विद्यार्थीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालासँग विभिन्न माग राखेका छन । जन सेवा माध्यमिक विद्यालय असुरेनी धाम काल्चे सल्यानबाट शैक्षिक भ्रमणमा सुर्खेत आएका शिक्षक र विद्यार्थीहरूले मन्त्री ज्वालासँग विभिन्न माग राखेका विद्यालयका प्रधानाध्यापक यामप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार शिक्षकहरूले मन्त्री समक्ष शिक्षक दरबन्दी हुनुपर्ने बढाईनुपर्ने, विद्यालय भवन बनाइदिनुपर्ने, विद्यालयलाई खेलकुद सामाग्री उपलब्ध गराउनुपर्ने माग राखेका हुन् । उनले विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय स्थापनाका लागिसमेत सहयोग गरिदिन आफूहरूले आग्रह गरेको जानकारी दिए ।
विद्यार्थीहरूले विद्यालयमा शैक्षिकस्तर राम्रो बनाइदिनुपर्ने, विद्यालयमा शौचालय निर्माण गरिदिनुपर्ने जस्ता मागहरू मनत्री समक्ष राखेका थिए ।
प्रत्युत्तरमा मन्त्री ज्वालाले शिक्षकहरूले शैक्षिक अवस्था सुधार गर्न मैनबत्तीको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘विद्यार्थीहरू भविष्यका कर्णधार हुन्’ उनले भने, ‘आजैदेखि राम्रो शिक्षादिक्षा दिन सकेको खण्डमा भोलीका दिनमा कर्णाली प्रदेशलाई, नेपाललाई हाँक्न सक्ने क्षमतावान युवाहरू हामीले पाउन सक्छौं ।’
मन्त्री ज्वालाले विद्यार्थीहरूलाई अनुशासित भएर अध्ययन गर्न अनुरोध गरे । ‘अनुशासित र लगनशील भएर मेहनत गरी पढ्नुस, तपाईहरूको भविष्य उज्जवल छ,’ उनले भने । मन्त्री ज्वालाले विद्यालयको भौतिक अवस्था सुधारका लागि आवश्यक सहयोग गर्ने गरी आफू अघि बढ्ने प्रतिबद्धता जनाए ।
समग्र शिक्षाको विकास गरेमात्रै समृद्धि सम्भव रहेको बताउँदै मन्त्री ज्वालाले त्यसकालागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताए ।