०२ असार २०८३, मंगलबार

मुख्य समाचार : राष्ट्र हितलाई सम्मान गर्न ओलीलाई पूर्वप्रधानमन्त्रीको सुझाव, टूरिस्ट बसमा कालोधन्दा

मुख्य समाचार : राष्ट्र हितलाई सम्मान गर्न ओलीलाई पूर्वप्रधानमन्त्रीको सुझाव, टूरिस्ट बसमा कालोधन्दा

काठमाडौं, २२ चैत–भारत भ्रमणका क्रममा राष्ट्र हितलाई सम्मान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएका छन् । आफ्नो आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, प्रबुद्ध वर्ग र परराष्ट्रविद्सँग बुधबार प्रधानमन्त्री ओलीले गरेको छलफलमा उनीहरूले यस्तो सुझाव दिएका हुन् । 

छलफलमा ओलीले पुराना सम्झौता कार्यान्वयनमा जोड दिने स्पष्ट पारेका छन् । छलफलमा सहभागी पूर्वप्रधानमन्त्रीहरूले २१ औं शताब्दीअनुसार द्विपक्षीय हित र राष्ट्रिय स्वार्थलाई उच्च सम्मान दिन सुझाव दिए । बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्वप्रधानमन्त्रीहरूले सुझाव दिएको बताए। 

छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र खिलराज रेग्मी सहभागी थिए। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भने छलफलमा सहभागी थिएनन्। 

पञ्चेश्वर आयोजना प्राथमिकतामा– प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ गतेदेखि गर्न लागेको भारतको राजकीय भ्रमणमा पञ्चेश्वर बहुद्देश्यीय आयोजनाका बारेमा छलफल गर्ने तयारी गरिएको छ । लामो समयदेखि चर्चामा सीमित सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का विषयमा आवश्यक सहमति जुटाउन भ्रमणका क्रममा पहल गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।  

प्रधानमन्त्री ओलीले मंगलबार संघीय संसद्को बैठकलाई सम्बोधन गर्दै भ्रमणका क्रममा पञ्चेश्वरको विषयले प्राथमिकता पाउने उल्लेख गरेका थिए । उता प्रधानमन्त्री ओलीको भारत भ्रमणले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले प्राथमिकता पाउने आशा स्थानीयवासीले गरेका छन् ।  

मन्त्रालयको निर्देशन– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी र चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रमको  हस्तान्तरण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको सेवा प्रवाहलाई छिटो छरितो तथा प्रभावकारी बनाउन कर्मचारी र स्रोतसाधनको व्यवस्था गर्न मन्त्रालयले यस किसिमको कामलाई अघि बढाएको जनाएको छ । 

स्थानीय सरकार सञ्चालन भएको एक वर्ष भइसके पनि स्थानीय तहले अधिकार नपाउँदा अधिकार तहको कार्य सम्पादनमा ढिलाइ भइरहेको मन्त्रालयको ठहर छ । 

यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई वैदेशिक भ्रमणमा जानुअघि मन्त्रालयबाट अनिवार्य  रुपमा मनोनयन स्वीकृति लिन निर्देशन दिएको छ । नियमावली स्वीकृति नभएसम्म स्थानीय तहका पदाधिकारी र कर्मचारीले औचित्यता, सान्दर्भिकता, मितव्ययिता र पदीय मर्यादालाई समेत ख्याल गरी वैदेशिक भ्रमणको निर्णय लिनुपर्ने पक्षलाई हेक्का गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ । 

टूरिस्ट बसमा कालोधन्दा– महानगरीय प्रहरी वृत्त, कालिमाटीले ११ किलो रक्तचन्दन र विभिन्न सामग्रीसहित दुईजनालाई पक्राउ गरेको छ । वृत्तले दिल्लीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ४५१६ नं को पर्यटक बसमा रक्तचन्दन लुकाएर ल्याउँदै गरेका चालक काभ्रेका झिल्केमान रुम्बा र सहचालक वुटवलका सुमन पुनलाई मंगलबार पक्राउ गरेको हो । 

महानगरीय प्रहरी परिसरले बुधबार पत्रकार सम्मेलन गरी ११ किलोग्राम रक्तचन्दन, रक्तचन्दनबाट मालामा प्रयोग गर्न बनाएको एक हजार ३०२ दाना, कुर्था सुरुवाल ६० थान, कुर्था टप्स दुई हजार ९८८ थान बरामद गरेको जानकारी दिएको छ । 

यसैगरी, सिल्क साडी १४३ थान, सिल्क साडी ६४ थान, सिफन साडी ६९ थान, महिला चप्पल १८ जोर र पुरुषले लाउने सर्ट २१० थान बरामद गरेको छ । 
प्रहरीले नियन्त्रणमा लिएको बस कसको भन्नेबारे अनुसन्धान भइरहँदा महानगरीय प्रहरी परिसरका केही अनुसन्धान अधिकृतलाई फोनमार्फत् बस अहिले नै छाडिदिने हो भने २० लाख दिन्छु भन्ने प्रस्ताव आएपछि प्रहरीले  बुधवार बिहान उज्यालो नहुँदै मेकानिक्सहरू बोलाएर गाडीका सबै पार्टस् खोल्न लगायो ।

जब बसको सीटमुनि बनाइएको फल्स बटन खोलियो, करौडौं मूल्य पर्ने रक्तचन्दन प्याक गरेर राखिएको अवस्थामा फेला पर्यो । तस्करहरूले रक्तचन्दनका विभिन्न आकारका भाँडा बनाएर बसको डिजेल ट्याङ्क छेउको फल्स बटनमा लुकाएर काठमाडौं ल्याएका रहेछन् । 
भारतबाट नेपाल हुँदै चीन तस्करी हुने रक्त चन्दन चीनमा प्रतिकेजी ५० देखि ८० लाख रुपैयाँका दरले बिक्री हुने गरेको प्रहरीको भनाइ छ । 


मनोज पुनले ‘सूटर’ बनाएका सडक बालक, बलुलाई गोली दागेर १ लाख पाए–रुपन्देहीको देवदह– २ ढेकावारमा बसन्त पौडेलमाथि गोली प्रहार गरी हत्या गर्ने सुटरलाई बुधवार रुपन्देही प्रहरीले सार्वजनिक गरेको छ । उज्वल नामक काठमिल संचालन गर्दै आएका ४० वर्षिय बलु भनिने बसन्त पौडेललाई गत पुस २१ गते ढेकारमा उनकै काठ मिलमा ग्राहक बनेर आएको समूहले हत्या गरेको थियो । 

बसन्त पौडेलमाथि गोली चलाउने लमजुङ बाङग्रे गाउँपालिका–५ घर भइ पोखरामा बस्दै आएका सुभाष गुरुङलाई मंगलबार पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानाकारी दिए ।

प्रहरीले हत्यामा संलग्न पदम चौधरी र महेन्द्र भनिने महि नारायाण चौधरीलाई यस अघि नै पक्राउ गरेको थियो । बलुको हत्याका योजनाकार मनोज पुन र उनका सहयोगी सोम आलेको पनि प्रहरी मुठभेडमा  मृत्यु भइसकेको छ । पक्राउ परेका गुरुङ परिबारबाट अलग्गिएर अपराध कर्ममा लागेका प्रहरीको भनाइ छ । 

६२ प्रतिशत मुद्दा फछर्याेट– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन बुझाएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति भण्डारीसमक्ष बुझाएको प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, राजश्व न्यायाधीकरण, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका न्याय सम्पादनसम्बन्धी मुख्य मख्य विवरण छन् ।

सर्वोच्च अदालत मातहतका अदालत तथा न्यायाधीकरणमा गत आवमा  दुई लाख ५४ हजार ५२९ थान मुद्दा रहेकामा करीब एक लाख ५७ हजार  (६१.८८ प्रतिशत) मुद्दा फछ्र्याेट भएको छ । बाँकी ९७ हजार ३४ थान मुद्दा भएको प्रतिवेदनमा उल्लेख छ ।

ल क्याम्पसः तालाबन्दीबाट भर्ना अवरुद्ध– त्रिवि कानून संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ । डीन कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागु गरेपछि त्यसविरुद्ध अनेरास्ववियुले तालाबन्दी गरेका कारण भर्ना प्रक्रिया रोकिएको नेपाल ल क्याम्पसका प्रमुख दीनानाथ पराजुलीले जानकारी दिए । 

डीन कार्यालयले ल क्याम्पसमा स्नातक तहको प्रथम वर्षका लागि पाँच सय जनाको दरबन्दी निर्धारण गरेपछि अनेरास्ववियु क्याम्पस कमिटीले ताला लगाएको हो । 

छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ–आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । लम्जुङ सुन्दरबजार–४, दुराडाँडाका सार्की थरका एक जनालाई मदिरा सेवन गरी पटकपटक १४ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छोरीलाई धम्की दिँदै करणी गर्ने गरेको श्रीमतीले थाहा पाएपछि प्रहरीमा उजुरी दिएकाले सार्कीविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणी उद्योग मुद्दा हालिएको प्रहरीले जनाएको छ । 


‘प्रहरी कार्यालय व्यवस्थित छैन’– राष्ट्रिय मानवअधिकार आयोगले यौनजन्य हिंसाजस्तो गम्भीर प्रकृतिको मानवाधिकार उल्लंघनका घटनाको अनुसन्धान तथा कारवाही प्रक्रिया व्यवस्थित र पीडितमैत्री बनाई हिंसापीडित महिलाको न्यायमा पहुँच अभिवृद्धि गर्नुपर्नेमा आग्रह गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आफ्नो नेतृत्वमा खटिएको टोलीले सोमबार काठमाडौँ उपत्यकाका महानगरीय प्रहरी परिसर टेकु, महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटी, महानगरीय प्रहरी वृत्त दरबारमार्गको आकस्मिक अनुगमन गरेपछि बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको छ ।

अनुगमनका क्रममा प्रहरी कार्यालय र पीडितलाई आवश्यक परामर्श दिन निर्माण गरिएको परामर्श कक्ष व्यवस्थित नभएको, जानकारीका लागि राखिएको सूचनापाटी सर्वसाधारणको पहुँचमा नभएको, सोधपुछ कक्षमा महिला कर्मचारीको उपस्थिति नरहेको एवं सर्वसाधारणको पहुँचमा नभएको र  यौनजन्य हिंसाका घटनामा प्रहरीबाट परामर्श प्रदान गरी मेलमिलाप गराउने गरेको पाइएको जनाइएको छ । 

    
विभिन्न विधेयक प्रदेशसभामा पठाउने निर्णय– प्रदेश नं ४ को बुधबार सम्पन्न मन्त्रिपरिषद्को आठौँ पूर्णबैठकले विभिन्न छवटा विधेयकमा छलफल गरी स्वीकृतिका लागि प्रदेशसभामा पठाउने निर्णय गरेको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार बैठकले स्थानीय तहको कानून तर्जुमा विधेयक–२०७४, स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्य विधेयक, २०७४ को मस्यौदा तथा नीति तथा योजना आयोगसम्बन्धी गठन आदेश स्वीकृत गरेको हाे ।  

बैठकले दुग्ध विकास बोर्ड गठन विधेयकमा सैद्धान्तिक सहमति प्रदान गर्नुका साथै भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत प्रादेशिक प्रशासनिक तथा सरकारी निवास संरचना कहाँकहाँ बनाउने भन्नेबारे स्वीकृति प्रदान गरेको छ ।

यस्तै प्रदेश नं ४ को बुधबार बसेको प्रदेशसभा बैठकमा दुई प्रतिवेदन प्रस्तुत भएको छ । बैठकमा प्रदेशसभा सदस्य एवं विधायन समितिका ज्येष्ठ सदस्य कृष्णचन्द्र नेपालीले प्रदेश सरकारका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी विधेयक विधायन समितिको प्रतिवेदनसहित सभामा प्रस्तुत गरे । 

कर्णाली प्रदेशः आर्थिक कार्यविधि विधेयक पारित–कर्णाली प्रदेशसभाको आठौँ बैठकले आर्थिक कार्यविधि सर्वसम्मत पारित गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यही चैत १६ गते संसद्मा सो कार्यविधि विधेय पेश गरेका थिए।  

उक्त विधेयकको दफावार छलफलपछि संसद् बैठकले पारित गरेको हो ।  विधेयक प्रदेश नियमावली, २०७४ को नियम १०९ को उपनियम १ बमोजिम छिटो पारित गरिएको छ । खासगरी प्रदेशमा बढ्दै गएको भ्रष्टाचार र कर्मचारीले गर्ने खर्च नियन्त्रण जोड दिन  तथा आर्थिक मितव्ययितामा ध्यान दिन कार्यविधि ल्याइएको आर्थिक मामिलामन्त्री ज्वालाले जानकारी दिए ।

कार्यविधि पारित भएपछि अब सरकालाई बजेट ल्याउन बाटो खुला भएको छ । 


डीपीएलः विराटनगर र काठमाडौं विजयी– धनगढी प्रिमियर लिगमा विराटनगर किङ्स र काठमाडौं गोल्डेन्स विजयी भएका छन् । धनगढीको संघीय इकाई प्रहरीको मैदानमा बुधबार भएको खेलमा राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्का नेतृत्वको विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै जित दर्ता गरेको हो । 

त्यस्तै, काठमाडौं गोल्डेन्सले सिवाइसी अत्तरीयालाई ११ रनले पराजित गर्दै डीपीएलमा लगातार तेस्रो जित निकालेको हो । तीन खेलमा काठमाडौंको ६ अंक भएको छ । अब प्लेअफमा पुग्न उसलाई एक जित आवश्यक छ । यता अत्तरीयाको तीन खेलबाट दुई अंक रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्