२१ असार २०८३, आइतबार

सनम शाक्य हत्या प्रकण : एसएसपी लोहनीसहित अपराध महाशाखाका ३ अधिकारी हेडक्वार्टर तानिए

सनम शाक्य हत्या प्रकण : एसएसपी लोहनीसहित अपराध महाशाखाका ३ अधिकारी हेडक्वार्टर तानिए

काठमाडौं, २४ चैत– महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनीसहित ३ जना अधिकारी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेका भनिएका एसएसपी लोहनीसहित प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रतिज केसी र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेललाई प्रहरी हेडक्वार्टर तानिएको हो । 

सो प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता रहेको खुलेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न छुट्टा छुट्टै छानविन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा एसएसपी लोहनीसहित डिएसपी केसी र सई सञ्जेलको संलग्नता देखिएको प्रारम्भिक प्रतिवेदन तयार गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो । 

गृह मन्त्रालयले सहसचिव ईश्वरी पौडेलको संयोजकत्वमा तथा प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको नेतृत्वमा बेग्लाबेग्लै छानविन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा संलगन रहेको भन्ने आशंकामा एसएसपी लोहनीसहित प्रहरी अधिकारी र कर्मचारीमाथि अनुसन्धान गरेको थियो । 

मोरङको उर्लावारी नगरपालिका– ७ का ३६ वर्षीय सनम शाक्य २१ फागुनमा मृत भेटिएका थिए । स्कार्पियो गाडीमा मृत अवस्थामा भेटिएका शाक्यलाई सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेको मोरङ प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट फेला परेको थियो ।

शाक्यको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २१ फागुनमै ३ जनालाई पक्राउ गरेको थियो । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो । 

चीनबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएपछि गिरोहले शाक्यलाई यातना दिएर हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले गोरे भनिने चूडामणि उप्रेतीलाई पनि सो प्रकरणमा अभियुक्त ठहर गरेको भए पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्