
काठमाडौं, २६ चैत– ललितपुरको छम्पीका ८१ वर्षीय रामचा महर्जनको आँखाको ज्योति गुमेको ६ वर्ष भयो । राम्रोसँग बोल्नसमेत नसक्ने महर्जनको आँखामा समस्या भएको भएपनि उपचार गराइदिने कोही थिएनन् ।
आफ्नो जहानपरिवार कोही नभएका महर्जन भाइ काजीमानको घरमा बस्थें । भाइको साहरामा दुई छाक खानसम्म पाएका महर्जनलाई आँखाको उपचार गर्न कसैले अस्पतालसम्म ल्याइदिएनन् । उनी दिनभरी भाइ कै घरमा एकैठाउँमा बसेर दिन विताउथें ।
नेपाल आँखा अस्पतालको हस्पिटल वेस कमिटि आइ हेल्थ प्रोगामका स्वास्थ्यकर्मीहरु महर्जन बस्दै आएको छम्पी पुगे । उनको अवस्थालाई देखेपछि अस्पतालका स्वास्थ्यकर्मीले अस्पतालसम्म ल्याएर । अस्पतालमा ल्याइएका महर्जनले मोतियाबिन्दुको कारण आँखा नदेखेको भएको पत्ता लाग्यो । उनको आर्थिक अवस्था कमजोर भएकाले नेपाल आँखा अस्पतालले महर्जनको मोतियाविन्दुको निशूल्क शल्याक्रिया गरिदियो ।
शल्यक्रियापछि आँखाको पट्टि खोलेर कालो चम्मा लगाएका महर्जन ६ वर्षपछि आफ्नो आँखाका ज्योति फर्कदा दंग देखिन्थे । उनलाई अस्पतालसम्म साथी आएका महर्जनका भाइ काजीमान महर्जन पनि ६ वर्षपछि दाइले आँखा देख्न सक्ने भएकोमा खुसी थिए ।
‘६ वषैदेखि आँखा देख्न छोडेका थिए । राम्रोसँग बोल्न पनि सक्दैनन्, एक्लै आउन सक्दैन थिए, साथी कोही थिएन । त्यसैले उपचार भएको थिएन ।’ रामचाका भाइ काजीमानले भने, ‘आँखा अस्पतालबाट उपचार हुन्छ भनेर ल्याउनु भयो उपचारको पैसा पनि तिर्नु नपर्ने रैछ सजिलो भयो ।’
नेपाल आँखा अस्पतालले आफ्नो ४४ औं वार्षिकोत्सवको अवसरमा महर्जनको आँखाको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गरिदिएको हो । अस्पतालले महर्जन जस्तै आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका अन्य ४३ जना मोतिविन्दुका कारण आँखा देख्न नसक्ने बिरामीको आँखाको निशुल्क शल्यक्रिया गरिदिएको छ ।
अस्पतालको वार्षिक उत्सबको अवसरमा अस्पतालले कार्यक्रममा प्रमूख अतिथि एवं रक्षामन्त्री इश्वर पोखरेलले मोतिविन्दुको निशुल्क शल्यक्रिया गरिएका विरामीको आँखाको पट्टि खोलिदिएर चस्मा लगाइदिएका थिए ।
अस्पतालले निःशूल्क उपचार गराएर रक्षा मन्त्रिको हातबाट चस्मा लगाउँन पाउँदा विरामीहरु खुसी देखिन्थे ।
कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले अस्पतालले बिगतबाट पाठ सिक्दै अस्पतालले आगामी दिनमा अनुसन्धानको क्षेत्रमा पनि कार्य गर्नुपर्ने बताए ।
उनले भने,‘ यो अस्पताल ४४ वर्षमा पुग्दा अब समिक्षा गर्नुपर्ने समय पनि हो । यसको उपलब्धि प्रति हामी सबैले गर्व गर्नुपर्छ । खुसीको कुरा यो अस्पताल राजनितिक, आर्थिक दुवै संकटबाट मुक्त छ । आत्मनिर्भर भएर आँखाका बिरामीलाई राम्रो सेवा दिइरहेको छ ।’
अस्पतालका कार्यकारी निर्देशक दमन घलेले नेपाल आँखा अस्पतालले आँखा उपचारको राम्रो सेवा दिदै आएको बताए ।
४४ वर्ष अघि वीर अस्पतालको ६ वटा शय्याबाट शुरु भएको नेपाल आँखा अस्पतालको अहिले ९८ शय्याको भवन त्रिपुरेश्वरमा रहेको छ । अस्पतालले ग्रामिण क्षेत्रका बिरामीकोलागि समय सयमा निशुल्क शिविर संचालन गरी सेवा समेत दिदै आएको घलेले जानकारी दिए ।