१२ असार २०८३, शुक्रबार

पहिलाे दिन शान्तिपूर्ण रह्याे बिस्केट जात्रा, रथ गःहिटी पुर्‍याइयो

चैत २८, २०७४
पहिलाे दिन शान्तिपूर्ण रह्याे बिस्केट जात्रा, रथ गःहिटी पुर्‍याइयो

भक्तपुर, २८ चैत– यसवर्ष बिस्का (बिस्केट) जात्राको पहिलो दिन आज शान्तिपूर्ण रुपमा रथ तान्ने काम सम्पन्न भयो । 

जात्रामा भैरवनाथको रथ तान्ने क्रममा केही वर्षयता ढुंगामुढा हुँदै आएपनि यसवर्ष त्यस्तो कुनै गतिविधि भएन । यसवर्ष भैरवनाथको रथ एकै दिनमा निर्धारित स्थान गःहिटी भने पु¥याउन सकेन । मंगलबार साँझ ४ बजे शुरु भएको जात्रामा राति रथलाई गःहिटी पु¥याउन नसकेपछि आज बिहान भैरवनाथको रथ गःहिटी पुर्‍याइएको हो । 

जात्राको परम्पराअनुसार रथलाई गःहिटी पु¥याएपछि मात्र पहिलो दिनको जात्रा सम्पन्न हुन्छ । तर राति रथ तान्ने जनशक्ति अभाव भएपछि रथलाई साकोठास्थित नमस्ते क्याफे नजिक अलपत्र छाडिएको थियो । विगतका वर्षहरुमा राति रथ तान्ने स्थानीयवासीको संख्या कम हुँदा रथलाई गःहिटी पु¥याउन सुरक्षाकर्मीले सहयोग गथ्र्यो । तर यसपटक सुरक्षाकर्मीले रथ तान्न सहयोग नगरेको स्थानीयवासीले बताएका छन् । 

“राति १ बजे नमस्ते क्याफे नजिक पुगेपछि जनशक्ति अभावका कारण रथलाई त्यही छाडिएको थियो,” भैरवनाथ जात्रा सहयोग समितिका सदस्य राजेश लोहलाले भन्नुभयो – “आज बिहान समितिको अगुवाइमा स्थानीयवासीले रथलाई गःहिटी पुर्‍याएका हुन् ।” 

रथलाई गःहिटी पुर्‍याउने क्रममा रथको गजुर भाँचिएको लोहलाले जानकारी दिनुभयो । “रथ तान्ने क्रममा तारमा अल्झिएर गजुर भाँचिएको छ, रथको छानासमेत खसेको छ,” उहाँले भन्नुभयो । 

रथको मर्मत र गजुर बनाउने कार्य आजै शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो । रथ निर्माण गर्ने शिल्पकारहरुलाई रथको छाना र गजुरको मर्मतका लागि निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले चैत ३० गतेका लागि रथ तयार हुने बताउनुभयो । 

रथलाई गःहिटीमा तीन दिन राखिने छ । चैत मसान्तको दिन रथलाई भेलुखेलस्थित यसिँख्यः लगिने छ । जात्राको चौँथो दिन अर्थात् चैत मसान्तको दिन रथलाई तानेर भेलुखेलस्थित यसिँख्यः पु¥याइएपछि विश्वध्वजासहितको ५५ हात लामो यसीँ (लिंगो) ठड्याउने परम्परा छ । 

वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ यसीँ ढालेपछि भैरवनाथको रथलाई गःहिटी पु¥याइने र जात्राको अन्तिम दिन वैशाख ५ गते पुनः गःहिटीबाट भैरव र भद्रकालीको रथलाई तानेर क्वःने (तल्लो टोल) र थःने (माथिल्लो टोल)को परिक्रमा गराई टौमढीमा रथ पु¥याइन्छ र जात्रा सम्पन्न हुन्छ । 

यसैबीच, जात्रामा हुलदंगा मच्चाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी हातमा चुप्पीसमेत लिएर होहल्ला गर्दै जात्रामा अशान्ति फैलाउन खोजेका भक्तपुर नगरपालिका–३, टौमढी बस्ने २४ वर्षीय राजन भेलेलाई राति नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्