
काठमाडौं, २८ चैत- राप्रपा अध्यक्ष कमल थापाले समय क्रममा पार्टीले रणनीति र कार्यनीतिमा परिबर्तन गरेता पनि सिद्धान्तमा परिबर्तन हुन नसक्ने स्पष्ट पारेका छन् ।
कसैले भ्रम छरेर लखेट्ने प्रयास गर्दैमा वा एउटा चुनाव हार्दैमा पार्टी एजेन्डाबाट बिचलित नहुने बताउदै थापाले जनताको बिश्वासबाट जनअनुमोदित गराउदै प्रजातान्त्रिक मूल्य,मान्यता र बिधिबाट एजेन्डालाई स्थापित गर्ने दृढता ब्यक्त गरे ।
पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै थापाले भ्रष्टाचार ,धर्मान्तरण र साम्यबादी अधिनायकवाद अहिले मुलुकको मुख्य चुनौती र रोग भएको बताए ।
राष्ट्रियता , प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यतामा आधारित सम्बर्द्धनवाद नै उक्त चुनौतिको समाधान भएको जिकिर गरे । थापाले शैक्षिक क्षेत्रमा राजनैतिक हस्तक्षेपको अन्त्य र विद्यार्थी बर्गको हक ,हित र एकताको पक्षमा काम गर्न तथा राष्ट्रबादको सम्बर्द्धनमा प्रतिबद्ध रहन विद्यार्थी पङ्तीलाई आग्रह गरे ।
सो कार्यक्रमलाई राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ , महामन्त्री राजेन्द्र लिङ्देन,गोपाल दहाल,कुन्ती शाही ,महेश सिह लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा ७२ जिल्लाका ३५० प्रतिनिधिको सहभागीता रहेको छ ।