
विराटनगर, २९ चैत - अस्वाभाविक यौन चाहना बोकेकाले समयमै उपचार गराएमा एवं पीडितको मनोबल गिर्न नदिएमा बलात्कारको घटनामा धेरै कमी आउने एक वरिष्ठ मनोचिकित्सकले बताएका छन् ।
विराटनगरस्थित कोसी अञ्चल अस्पतालका वरिष्ठ मनोरोग चिकित्सक डा.रोशन पोखरेलले बलात्कारको मनोस्थिति बन्नु एक जटिल मानसिक रोग भएको जनाए ।
उनले यसलाई रोक्न त्यस्ता विकृत मानसिकता बोकेकाको उचित उपचार र लामो अदालती प्रक्रियाका कारण मुख खोल्न नचाहने पीडित पक्षको मनोबल बढाउन जरुरी भएको बताए । बलात्कारको प्रयास नै पनि गम्भीर मानसिक रोगको परिणाम भएको डा.पोखरेलले औंल्याए । उनका अनुसार लुकाउँदा अपराधीको मनोबल बढ्छ भने न्याय एवं उपचार नपाउँदा पीडितलाई आजीवन पुरुष तथा यौनप्रति नै नकारात्मक भावनाले जरो गाड्छ, कान्तिपुरमा खबर छ ।