काठमाडौं, २९ चैत । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाले–माओवादी केन्द्रबीचको एकता समानताकै आधारमा हुने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले पार्टी एकता समानताकै आधारमा हुने स्पष्ट पारेका हुन् । उनले भने,‘सम्मानजनक रुपमै एकता हुन्छ, यसमा कुनै दुईमत छैन्।’
साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको गृहकार्य भैरहेकोले अब बस्ने एकता संयोजन समितिको बैठकमा ठोस छलफल हुने जनाए ।
पत्रकारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त एकता ५०/५० को आधारमा हुनुपर्छ भन्नुभएको छ नि भनेर सोधेको प्रश्नमा उनले भने,‘सख्याँत्मक दृष्टिकोणले को व्यक्ति कहाँ ? कति रहन्छन् ? भन्ने कुरामा संस्थागत रुपमा छलफल गर्न बाँकी छ, त्यो छलफल भएपछि जानकारी हुन्छ, तर प्रचण्डजीले समानताका आधारमा हुनुपर्छ भनेको कुरालाई मैले कसरी बुझेको छु भने दुईवटा पार्टी एक ठाउँमा आएपछि समानताको आधारमा हुने हो नि त, एउटा पार्टी ठूलो गज्जबको, अर्को केहीपनि होईन भनेर त्यसरी एकता हुँदैन कहिल्यैपनि, अब व्यक्ति–व्यक्ति कुरा अर्थात को व्यक्ति कहाँ जाने ? भन्ने कुरा त अन्तरिम विधान आएपछि छलफल गरेर भन्ने कुरा हो।’
रावलले दुई पार्टीबीच बैशाख ९ गते एकता घोषणा गर्ने भन्ने सामान्य समझदारी भएको भएपनि संस्थागत निर्णय नभएको जिकिर गरे । उनले भने,‘बैशाख ९ गते नै एकता घोषणा गर्ने भन्नेबारे औपचारिक निर्णय हुन बाँकी छ, त्यसलाई पार्टी एकता संयोजन समितिले पनि निर्णय गर्न बाँकी छ, त्यो निर्णय बमोजिम हामीले आ–आफ्नो पार्टीको उपल्लो निकाय केन्द्रिय कमिटिमा आएर छलफल गरेर अनुमोदन गर्ने प्रक्रियापनि बाँकी छ।’