
काठमाडौं, ३० चैत– रुसले अमेरिकासँग युद्ध हुनसक्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयमा दुई देशबीच कटूता बढ्दै गएका बेला रुसले यस्तो चेतावनी दिएको हो ।
अमेरिकाले सिरियामा आक्रमण गरेमा अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले बताए । युद्धको सम्भावनालाई नकार्न नसकिने उनको भनाइ छ । विद्यमान अवस्था निकै खतरनाक रहेको उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक आक्रमणको जवाफ कसरी दिने भन्नेमा छलफल गर्न सक्ने जनाइएको छ ।
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा गरिएको रसायनिक आक्रमणमा थुप्रैं व्यक्ति मारिएपछि अवस्था तनावपूर्ण बनेको हो । आक्रमणमा सिरियाली सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ भने रुसले आरोप अस्वीकार गरेको छ ।
यही तनावपूर्ण वातावरणमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रपले ट्विटरमार्फत रुसलाई उसको मित्रराष्ट्र सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ भन्ने सन्देश दिएका छन् ।