
विराटनगर, ३ बैशाख– बिजयकुमार गच्छदार नेतृत्वको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताले कांग्रेसमा सम्मानजनक स्थान नपाएको भन्दै तीब्र असन्तुष्टि जनाएका छन् । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि गच्छदारले कांग्रेससँग पार्टी एकीकरण गरेका थिए ।
तर, एकीकरण भएको लामो समय बितिसक्दा पनि एकीकृत पार्टीमा सम्मानजनक स्थान नपाएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
सोमबार विराटनगरमा भेला भएका लोकतान्त्रिका पुराना नेता तथा कार्यकर्ताले एकीकृत पार्टीमा सम्मानजनक स्थान हुनुपर्नेमा जोड दिए । उनीहरुले आफूहरुलाई कांग्रेसमा सम्मानजनक स्थान दिलाउन नसकेको भन्दै तत्कालिन पार्टी अध्यक्ष गच्छदारको चर्को आलोचना समेत गरे ।
विराटनगरको बंगलामुखीको सभाहलमा भएको भेलाले कांग्रेससँग भएको सहमति तत्काल कार्यान्वयन गर्न र आवश्यक पहल गर्न गच्छदारसँग माग गरेको छ । एकीकरणको समयमा भएको सहमति अनुसार यथासिघ्र सम्मानजनक समायोजनको प्रक्रिया अगाडी बढाउन चालू केन्द्रीय कार्यसमितिको बैठकबाटै निर्णय गर्न समेत उनीहरुले गच्छदारलाई दबाब दिएका छन् ।
तत्कालिन लोकतान्त्रिकका मोरङ जिल्ला अध्यक्ष भक्तिनाथ माझीले भेला पछि विज्ञप्ति जारी गर्दै पार्टी एकीकरण भएको महिनौं बितिसक्दा पनि समायोजन हुन नसकेको प्रति असन्तुष्टि जनाउँदै तत्काल पहल गरिनुपर्नेमा जोड दिएका छन् ।
गच्छदारसमेत सहभागि गराइएको उक्त भेलामा कार्यकर्ताले उठाएको प्रश्नको गच्छदारले 'पार्टी भित्र पहल गर्छु' भन्ने बाहेक कुनैपनि जवाफ दिन नसकेको एक सहभागिले बताए ।