
काठमाडौं, ५ वैशाख–नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि सूर्य चुनाव चिह्न राख्ने सहमति भएको भन्ने एमालेका एक प्रभावशाली नेताको भनाइको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेका छन् ।
मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको पार्टी एकता संयोजन समितिको बैठकमा चुनाव चिह्न सूर्य राख्नेमा सहमति भएको रक्षामन्त्री एवं एमाले महासचिव इश्वर पोखरेलले बताएका थिए । सूर्य चिह्नमा सहमति भएको भन्ने पोखरेलको भनाई उदृद्ध गर्दै राष्ट्रिय समाचार समिति (रासस)ले समाचार लेखेको थियो ।
रक्षामन्त्री समेत रहेका एमाले महासचिव पोखरेलको भनाइको माओवादी अध्यक्ष प्रचण्डले बुधवार खण्डन गरेका छन् । गृह जिल्ला चितवनमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले चुनाव चिह्नको विषयमा सहमति भइनसकेको दाबी गरेका हुन् ।
नेकपा एमालेका अर्का एक प्रभावशाली नेताले पनि सूर्य चिह्न छाड्न नसकिने बताए । ‘पार्टीको नाम फेर्न सकिएला चुनाव चिह्न फेर्न सकिँदैन,’ ती नेताले भने, ‘सूर्य चिह्न र एमाले एकअर्काका परिपूरक भइसकेका छन् ।’
नेकपा माओवादीले उठाउँदै आएको ‘जनयुद्ध’लाई स्वीकार्ने शर्तमा माओवादीले सूर्य चिह्नमा सहमति जनाएको एमाले स्रोतको दाबी छ । प्रचण्डले भने यस विषयमा छलफल जारी रहेको बताएका छन् ।
‘चुनाव चिह्न त प्राविधिक विषय हो, मिल्न बाँकी धेरै विषय छन्,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘मुख्य कुरा एकता सम्मानजनक हुने कि नहुने भन्ने नै हो ।’ माओवादीले संगठनमा ५० प्रतिशतको हिस्सा दाबी गरेको छ भने एमालेले गत निर्वाचनमा पाएको मत प्रतिसतलाई आधार बनाउनु पर्ने अडान राखेको छ ।
मंगलवार बसेको एमाले माओवादी कार्यदलको बैठकले सहमति जुट्न नसकेका विषयमा छलफल गर्ने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिएको थियो । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सहमति जुटन नसकेको विषयमा एक्लाएक्लै छलफल भएपछि मात्र संयोजन समितिको बैठक बस्ने तयारी छ ।
गृहकार्य प्रर्याप्त नभएकोले ९ वैशाखमा पार्टी एकता गर्ने तयारी भने तत्कालका लागि टरेको छ । बाहिर केही प्राविधिक विषयमा सहमति जुट्न नसकेको बताइए पनि केही शीर्ष नेताले आफ्नो भविष्यको सुनिश्चितता खोजेका कारण एकतामा ढिलाइ भएको दुवै पार्टीनिकट स्रोतहरू बताउँछन् ।