
काठमाडौं, ६ वैशाख– जिम्बाबे सरकारले आन्दोलनमा उत्रिएका दश हजार बढी नर्सलाई बर्खास्त गरेको छ । उनीहरु सेवा–सुविधामा वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।
आन्दोलनमा उत्रिएका नर्सहरुको माग सम्बोधन गर्न सरकारले पुनः वृद्धि गरेको पारिश्रमिक र सेवा सुविधा समेत सन्तोषजनक नभएको भन्दै आन्दोलन जारी राख्दै काममा नफर्केपछि सरकारले उनीहरुलाई बर्खास्त गरेको हो ।
नर्सहरु हड्तालमा उत्रिएपछि बिरामीहरुको हेरचाह र उपचार नै प्रभावित भएपछि उनीहरुको जीवनरक्षाका लागि पछिल्लो कदम चाल्न बाध्य भएको जिम्बाबे सरकारले जनाएको छ ।
यद्यपी सरकारको यो कदम नर्सहरुको आन्दोलनलाई कमजोर बनाई उनीहरुलाई काममा फर्काउने रणनीति समेत भएको आंकलन भइरहेको बीबीसीले जनाएको छ । केही समय अघि पनि सेवा सुविधा बढाउनुपर्ने माग राख्दै डाक्टरहरुले आम हड्ताल गरेका थिए ।