२१ असार २०८३, आइतबार

वामदेवले भने- 'काम गर्न नसके कम्युनिष्ट सरकार ढल्छ र ५ वर्षमा काँग्रेस उदाउँछ'

बैशाख १०, २०७५
वामदेवले भने- 'काम गर्न नसके कम्युनिष्ट सरकार ढल्छ र ५ वर्षमा काँग्रेस उदाउँछ'

काठमाडौँ, १० वैशाख -नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता केही दिनमा नै हुने बताउनुभएको छ । 

राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘आर्दश दम्पती पुरस्कार तथा सम्मान’ कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

उपाध्यक्ष गौतमले नेपाली जनताले यी दुबै कम्युनिष्ट पार्टीलाई अभूतपूर्व शक्ति निर्वाचनबाट प्रदान गरेको उल्लेख गर्दै त्यो शक्तिलाई एकताबाट झन शक्तिशाली बनाउने बताउनुभयो । 

अहिलेको उपलब्धिलाई संस्थागत गरेर वाम गठबन्धनको सरकारले मुलुकलाई समृद्धि बनाउनुपर्छ, उहाँले भन्नुभयो, “अहिलेको शक्तिलाई सदुपयोग गरेर काम गर्न सक्यौँ भने मुलुक समृद्ध बन्छ ।” 

उपाध्यक्ष गौतमले “यदि सरकारले काम गर्न सकिएन भने मुलुकमा कम्युनिष्ट ढल्छ र पाँच वर्षमा पुनःनेपाली काँग्रेस उदाउँछ,” भन्दै वाम गठबन्धनको सरकारले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार समाजवाद ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

व्यक्ति विशेष नभई समाजलाई आधार बनाएर समाजवाद ल्याउने बताउँदै उहाँले लोपोन्मुख जातिको भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । 

सो अवसरमा उपाध्यक्ष गौतमले आर्दश दम्पतीरुपमा एमाले उपाध्यक्ष युवराज ज्ञवाली र इन्दु ज्ञवाली, एमालेका पूर्वनेता भरतमोहन अधिकारी र सविता अधिकारी तथा बवरजंग थापा र सरस्वती थापालाई सम्मान गर्नुभयो । 

कार्यक्रममा उपाध्यक्ष ज्ञवालीले धर्मपत्नीको सहयोगले नै राजनीतिमा अगाडी बढेको बताउँदै आफूहरु असल दम्पतीका रुपमा अहिले पनि रहेको धारणा व्यक्त गर्नुभयो । 

एमालेका पूर्वनेता अधिकारीले राजनीति गर्नका लागि धर्मपत्नीको भूमिका ठूलो हुने बताउनुभयो । (\रासस

salt training

कमेन्ट गर्नुहोस्