
काठमाडौं, १३ वैशाख– इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्स शीर्ष स्थानमा उक्लिएको छ । बुधवार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।
चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २०६ रनको विजय लक्ष्य दिएको थियो । जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्यो ।
जितका लागि कप्तान महेन्द्र सिंह धोनीे ३४ बलमा सात छक्का र एक चौकाको मद्दतमा अविजित ७० रन जोडे । अम्बाती रायडुले ८२ रनको योगदान गरे ।
बलिङतर्फ युजवेन्द्र चहलले २ तथा उमेश यादव र पवन नेगीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०५ रन बनाएको थियो । बैंग्लोरका लागि एविडिविलियर्सले ३० बलमा आठ छक्का र दुई चौकाको मद्दतमा ६८ रन बनाएका थिए ।
बलिङतर्फ चेन्नाइका इमरान ताहिर, शार्दुल ठाकुर र ड्वान व्राभोले २–२ विकेट लिए ।
यो जितसँगै चेन्नाई १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने बैंग्लोर छैठौं स्थानमा छ । समान १० अंक बटुलेको किंग्स इलाभेन पन्जाब कम नेट रन रेट भएकाले दोस्रो स्थानमा छ । सनराइजर्स हैदरावाद ८ अंकसहित तेस्रो स्थानमा छ ।