काठमाडौँ, १३ वैशाख– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनताले अनुभूति गर्न खालेको सेवा दिनुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालयमा उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज ‘सार्वजनिक सेवाको भावीस्वरुप र तहगत अन्तरसम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले अहिलेको प्रशासनिक कामबाट जनताले अनुभूति प्राप्त गर्न नसकेको भन्दै जनताले अनुभूति गर्ने खालेको काम गर्नुपर्ने बताए ।
‘‘अहिलेको कामबाट जनता सन्तुष्टि छैनन्’’, उनले भने, ‘‘जनतालाई परिमाण निकाल्ने खालका काम गर्नुपर्दछ ।’’ मन्त्री पण्डितले कर्मचारीमा स्वतः बढुवा हुने प्रक्रियाले विकृति नित्याएको भन्दै कार्यक्षमताका आधारमा मात्र बढुवा गर्नुपर्ने उल्लेख गरे ।
उनले अहिले कर्मचारीको आधिकारिक ट्रेड युनियनलाई अहिलेकै अवस्थामा राख्न नसकिने भन्दै कस्तो बनाउने भन्नेमा छलफल गर्ने बताए । उनले संघ, प्रदेश र स्थानीय तहको अधिकार संविधानअनुसार नै चाँडै कामको बाँडफाँड गरेर जिम्मेवार बनाउनुपर्ने बताए ।
उनले कर्मचारीको तहगत र श्रेणीगत आवश्यकताअनुसार परिमार्जनसमेत गरिने धारणा राखे ।