
काठमाडौं, १४ बैशाख- काठमाडौं उपत्यकाका सडक र सार्वजनिकस्थलमा नेपाली र भारतीय मगन्ते देखिनु/भेटिनु नौलो होइन। केही समययता उपत्यकामा चिनियाँ मगन्तेसमेत भेटिन थालेको आजको नेपाल समाचारपत्रमा खबर छ ।
चिनियाँ गीत–संगीत, सारंगी र अन्य वाद्यवादन बजाउँदै/सुनाउँदै पैसा मागिरहेका अवस्थामा चिनियाँ भेटिने गरेका छन्। सर्वसाधारणको बाक्लो चहल–पहल हुने काठमाडौंको वसन्तपुर, रत्नपार्क, बालाजु, ललितपुरको जावलाखेललगायतका स्थानमा २/३ जनाको समूह र कतै भने एक्लाएक्लै पनि पैसा संकलन गर्दै आएको पाइन्छ ।
मगन्ते हुलिया र शैलीमा देखिने/भेटिनेहरू प्रायः अधवैंशे उमेर समूहका छन्। बिहीबार दिउँसो जावलाखेल चोकमा २ जना चिनियाँ महिला शिरमा लगाइने ह्याट फैलाउँदै सडक किनारामा आगन्तुकसँग पैसाका लागि अपिल गरिरहेको भेटिए। यस्तै शैलीमा करिब ६० वर्ष उमेर नाघेका झैं देखिने अर्का चिनियाँ नागरिक न्युरोड, जुद्ध शालिक र कहिलेकाहीं रत्नपार्क आसपासमा भेटिन्छन्।
यसरी देखिने/भेटिने चिनियाँको पासपोर्ट र सरकारी अभिलेखले उनीहरूलाई मगन्ते वा भिखारी भन्दैन, उनीहरू पर्यटक हुन्। पर्यटक भिसामा नेपाल आउनेहरू नै मगन्तेका रूपमा भेटिने गरेका र त्यस्ता नागरिकको गतिविधि गैरकानुनी भएको चिनियाँ पथ प्रदर्शक ध्रुव पौडेलले बताए । ‘स्थल नाकाबाट नेपाल भित्रिने चिनियाँ काठमाडौं र पोखरामा समेत मगन्तेका रूपमा देखिने गरेका छन्, उनीहरू जुन प्रयोजनका लागि नेपाल आएका हुन्, त्योबाहेकको गतिविधिमा देखिनु गैरकानुनी कार्य हो।’ –उनले भने ।
नेपाल भित्रिने पर्यटकबारे नियमन गर्ने निकाय अध्यागमन विभाग हो। पर्यटक भिसामा नेपाल आउने तर फरक किसिमको गतिविधिमा संलग्न हुनेमाथि निगरानी बढाएर कारबाहीको दायरामा ल्याउने गरिएको विभागका महानिर्देशक दीपक काफ्लेले दाबी गरे ।