
काठमाडौँ, १४ वैशाख - स्थानीय तहमा जान तयार नभए निजामती कर्मचारीलाई सरकार आफैँले प्रक्रिया पूरा गरेर खटाउने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाख ४ गते स्थानीय तहमा कामकाज गर्नका लागि १५ दिनको सूचना सार्वजनिक गरेको थियो । उक्त सूचनाको म्याद वैशाख १८ गते सकिँदैछ । सूचनालाई बेवास्ता गरी कर्मचारीले स्थानीय तहमा जान फाराम नभरे सरकारले खटाएको स्थानीय तहमा जान बाध्य हुनुपर्नेछ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले १८ गतेसम्म स्थानीय तहमा जानका लागि फाराम भरेका कर्मचारीलाई रोजेको ठाउँमा पठाउन सकिने तर फारम नभरी बेवास्ता गरे सरकार आफैँले स्थानीय तहमा खटाउने बताए ।
उनले भने , “कर्मचारीले देशका जुनसुकै स्थानमा गएर पनि सेवा गर्छु भन्ने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका हुन्, अब सोहीअनुसार सरकारले खटनपटन गर्छ । ” स्थानीय तहमा खटिन चहाने कर्मचारीले आफू कार्यरत कार्यालयमा फाराम बुझाउने व्यवस्था भएकाले अहिलेसम्म कति कर्मचारीले फाराम भरे भन्ने यकिन तथ्याङ्क मन्त्रालयसम्म आइपुगेको छैन ।
चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको अन्तरिम सङ्गठन संरचना (ओएनएम) तथा दरबन्दी स्वीकृत गरेको थियो । सरकारले ११ उपमहानगरपालिकामा सहसचिव, ५० देखि ७५ हजार जनसङ्ख्या भएका ६८ वटा नगरपालिकामा उपसचिव, २५ हजारसम्म जनसङ्ख्या भएका ३१ नगरपालिका र ४६० गाउँपालिकामा शाखा अधिकृतको नेतृत्वमा कर्मचारी खटाउने तयारी गरेको छ, गोरखापत्रमा खबर छ ।