
काभ्रे, १४ वैशाख–काभ्रेको बनेपामा ४ दिने कृषि व्यवसाय प्रवद्र्धन तथा व्यापार मेला– २०७५ हुने भएको छ । बनेपास्थित समृद्ध काभ्रे कृषि सहकारी संस्था लिमिटेड, कृषि बजार मल्टिपर्पोज प्रा.लि र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले संयुक्तरूपमा आयोजना गरेको मेला यही वैशाख १५ गते शनिबारबाट शुरु भएर १८ गतेसम्म चल्नेछ ।
काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि.का अध्यक्ष पूर्णचन्द्र सिग्देलका अनुसार मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसहित किसानहरूबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, कृषि प्रविधि प्रदर्शनी, धुर्मुस सुन्तली, भद्रगोल हाँस्य टेलिश्रृंखला लगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुति, सुपथ मूल्य पसल, अर्गानिक उत्पादनहरुको प्रदर्शनी तथा बिक्री आकर्षणको रूपमा रहेको छ।
४ वर्षअघि काभ्रे जिल्लामा उत्पादित कृषिजन्य वस्तुहरुलाई सहजै उपभोक्तामाझ पुर्याउने उद्देश्यका साथ सञ्चालनमा आएको काभ्रे कृषि बजार मल्टिपर्पोज प्रा.लि.ले थोक तथा खुद्रा बजारका रूपमा तरकारी बजार सञ्चालनमा ल्याएको छ ।
करीब १ सय ५० स्टल रहने मेलामा किसानहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । पशुजन्य, माछा, चिया, तरकारीजन्यका साथै कृषिसम्बन्धी नयाँ प्रविधि, प्राङ्गारिक उत्पादन, प्राङ्गारिक मल लगायत सुपथ मूल्य पसल समेत सञ्चालन हुने बताइएको छ ।
राजधानीको कालीमाटीमा खपत हुने तरकारीजन्य वस्तुको ११.५३ प्रतिशत हिस्सा काभ्रेले ओगटेको छ ।