रियो दी जेनेरियो, १५ वैशाख-ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्बन्धी कुनै पनि काममा सहभागी हुन नपाउने गरी आजीवन प्रतिबन्ध लगाइएको छ ।
फुटबलको नियमनकारी निकाय फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो ।
फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको भन्दै दोषी ठहर गरेको हो ।
उनलाई फुटवलसम्बन्धी कुनै पनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ ।
फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउँदै गत डिसेम्बरमा निलम्बन गरेको थियो ।
फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् ।