०३ असार २०८३, बुधबार

मुख्य समाचार : कांग्रेस भित्रको विवाद छताछुल्ल, ३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै

बैशाख १७, २०७५
मुख्य समाचार : कांग्रेस भित्रको विवाद छताछुल्ल, ३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै

काठमाडौं, १७ वैशाख– नेपाली कांग्रेस भित्रको विवाद सतहमा आएको छ ।  आइतबार सम्पन्न केन्द्रीय समिति बैठकबारे  वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तीब्र असन्तुष्टि जनाएको छ । 

पार्टी कार्यालय परिसरमै नेता पौडेल पक्षधरले पत्रकार सम्मेलनको आयोजना गरी विधान विपरित बैठकले निर्णय गरेको आरोप लगाउँदै पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको बल देखाएको आरोप लगाए ।

उनले केन्द्रीय समितिको बैठकबाट भएका निर्णय आफूहरुलाई मान्य नहुने भन्दै  यसको मूल्य पार्टीले  चुनाउनु पर्ने चेतावनी दिए । उनको पत्रकार सम्मेलनमा  गगन थापा, कल्याण गुरुङ, रामशरण महतलगायतका नेताहरुको सहभागिता रहेको थियो । 

यसअघि महामन्त्री शशांक कोइरालालाई राखेर प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमार्फत सर्वसम्मत रुपमा निर्णय गर्दै बैठक सम्पन्न भएको बताएका थिए । सो सँगै शशांक कोइरालाले गुट परिवर्तन गरेको बुझिएको छ । 

मुख्यगरी पदाधिकारी मनोनयन गर्न देउवाले सोमबार बिहानको लागि केन्द्रीय समितिको बैठक बोलाएकोमा पौडेलको असन्तुष्टि रहेको बुझिएको छ । लामो बहसपछि सम्पन्न बैठकले चुनावमा  हारको जिम्मा भने वाम गठवन्धनलाई लगाएको छ । 

दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठवन्धन निर्माण गरी कांग्रेस चुनावमा पराजित भएको केन्द्रीय समितिले निष्कर्श निकालेको छ । यस्तै नेताहरूले आ–आफ्नो जिम्मेवारीअन्तर्गत पनि हारको जिम्मेवारी लिनुपर्ने कांग्रेस केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । 

आइतवार सकिएको कांग्रेस केन्द्रीय समिति बैठकले आगामी भदौ महिनाभित्र महासमितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । यद्यपि बैकठ भदौ कति गतेदेखि शुरु हुनेछ भन्ने विषयमा भने कुनै निर्णय भएको छैन ।
गत चैत ९ गतेदेखि कांग्रेस बैठक  सुरु भएको थियो । सो बीचमा नेता खुमबहादुर खड्काको निधन भएपछि बैशाख ९ देखि पुन बैठक बसेको थियो ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन– नेपाली कांग्रेसका विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति विघटन भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा ती दुवै समिति विघटन भएको जानकारी सभापति शेरबहादुर देउवाले बैठकमा गराएका हुन् । 

निर्वाचन हारको जिम्मेवारी सभापतिले लिने कि नलिने र यी दुई समिति विघटन गर्ने कि नगर्ने भन्नेमा लामो विवाद चलेको थियो । 

वैशाख २३ गते संघीय संसद् बैठक आह्वान– राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गरेकी छन् । 

संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

दसबुँदे घोषणा पत्र जारी– अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दशबुँदे लुम्बिनी घोषणा पत्र २०१८ जारी गर्दै सम्पन्न भएको छ । २५६२ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको सम्मेलन २ दिनसम्म चलेको थियो ।

सम्मेलनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्म विश्वशान्तिको मुहानको रूपमा स्वीकार गर्ने लगायत निर्णय गर्दै सम्पन्न भएको छ । २३ देशका अन्तर्राष्ट्रिय सहभागीहरू, नेपाल सरकार तथा लुम्बिनी विकास कोषले आयोजना गरेको २५६२ औँ बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विगतमा भएका उपलब्धिहरूलाई समेट्दै लुम्बिनी गौतब बुद्धको जन्मस्थल र बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्वीकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।

विश्व समुदायलाई बढ्दो हिंसा, असहिष्णुता र द्वन्द्वको सम्बोधन गर्न अह्वान गर्ने र दिगो विश्व शान्तिको निम्ति बुद्धको शिक्षालाई अवलम्बन गर्दै अन्तरआस्था, सहयोग र सदाचारहरूलाई प्रवर्द्धन गर्दै रणनीति तर्जुमा गर्ने लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताए ।

संरचना हटाउन सर्वोच्चको आदेश– पोखराको फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता खगेन्द्र सुवेदीले २३ असार २०६८ मा दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको संयुक्त इजलाशले फेवाताल अतिक्रमण गरेर बनाइएका संरचना हटाउन आदेश जारी गरेको हो ।

सर्वोच्चले आइतबार जारी गरेको आदेशमा २०६९ सालमा विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्दै फेवा ताल क्षेत्रलाई  जलाधार र वातावरण संरक्षण क्षेत्र घोषणा गर्न भनेको छ । 
पछिल्लो ४६ वर्षमा फेवाताल क्षेत्रमा ५ दशमलव ८० वर्ग्किलोमिटर क्षेत्रफल जमिन अतिक्रमण भएको लामिछाने नेतृत्वको छानवीन समितिले तयार पारेको प्रतिवेदनमा उल्लेखत छ । 

३३ किलो सुन प्रकरण थप रहस्यमय बन्दै– त्रिभुवन विमानस्थलबाट बाहिरिएको तस्करीको ३३ किलो सुनबारे अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकृत नै पक्राउ परेपछि सुन प्रकरण थप रहस्यम बन्दै गएको छ । 

प्रहरीले मोरङका सुन व्यापारी सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका डिएसपी प्रजीत केसीलाई पक्राउ गरेको हो । सनम शाक्यको हत्याकाण्डबारे अनुसन्धानको जिम्मेवारी पाएका केसीको सम्पर्क सुन तस्करीमा संल्गन गोरे उपनामका चुडामणि उप्रेतीसँग पाइएपछि केसीलाई हिरासतमा लिइएको हो । 

नेपालमा संगठित रुपमा सुन तस्करीको र्‍याकेट चलाइरहेका गोरे भनिने चुडामणि उप्रेतीका सहयोगी सनम शाक्यको हत्याबाट सुरु भएको साढे ३३ केजी सुन प्रकरण थप रहस्यमय बन्दै गएको छ । प्रकरणमा धमाधम प्रहरी अधिकारी नै पक्राउ पर्न थालेपछि यो प्रकरणले अनेकौं प्रश्नहरु उब्जाएको छ ।

यसअघि पूर्व डिआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन् । तर, अहिलेसम्म गायब भएको भनिएको साढे ३३ केजी सुन कहाँ छ भन्ने अत्तोपत्तो छैन ।

सरकारले सुन प्रकरणको छानबिन गर्न गठन गरेको समितिले आइतबारसम्म २८ जनालाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान र संगठित अपराध अन्तरगत मुद्दा चलाएको छ । जसमा ६ जना प्रहरी अधिकारीहरु छन् ।

पहिलो चरणमा करीब साढे चार लाख विद्यार्थी भर्ना– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । 

पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आइतवारबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन गरेको हो । दोस्रो चरणमा पहिलो चरणमा छुट भएका विद्यार्थीलाई विद्यालयमा ल्याउने मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए । 

पहिलो चरणमा मन्त्रालयले स्वतः स्फूर्तरुपमा विद्यार्थीलाई विद्यालय आउन आग्रह गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री र सांसदले विद्यार्थीलाई भर्ना गराएका थिए । 

कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ सर्वसम्मत पारित– कर्णाली प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५’ सर्वसम्मत पारित भएको छ । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले १३ गते विनियोजन विधेयक सभामा प्रस्तुत गरेका थिए । प्रस्तुत विधेयकमाथि बैठकमा तीन दिनसम्म दफावार छलफल भयो । 

यसैबीच, मन्त्री ज्वालाले ‘कर्णाली प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेश सभासमक्ष टेबुल गरेका छन् । मन्त्री ज्वालाले बाढी, भूकम्पलगायतका प्राकृति विपत्ति जस्ता कुरालाई ध्यानमा राखेर आकस्मिक अवस्थाको व्यवस्था र सञ्चालन गर्नुपर्ने भएकाले कर्णाली प्रदेश नियमावली २०७४ को परिच्छेद, १० को नियम ६० को उपनिय २ बमोजिम ‘आकस्मिक कोष विधेयक, २०७४’ सभासमक्ष टेबुल गरे ।


प्रमाणपत्र धितो राखेर ऋण माग्दै विद्यार्थी– शैक्षिक प्रमाणपत्र धितो राखेर निर्बयाजी ऋण पाउने व्यवस्था बजेटमा राख्न माग गर्दै विद्यार्थी संगठनहरुले अर्थमन्त्री डा.युवराज खतिवडालाई ज्ञापनपत्र बुझाएका छन् । यसअघि तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा व्यवस्था गरेपनि प्रमाणपत्र राखेर ऋण लिने व्यवस्था बैंकहरुले कार्यन्वयन नगरेकोले अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले बताए ।
अर्थमन्त्री खतिवडाले आगामी बजेटमा विद्यार्थी संगठनले उठाएका मागलाई अधिकतम सम्बोधन गर्ने र निजी बैंकहरुलाई पनि आग्रह गरिने बताए । विद्यार्थी संगठनले शिक्षामा २० प्रतिशत बजेट बढाउन माग समेत गरेका छन् ।


वाणिज्य सन्धि पुनरवलोकन गर्ने सहमति– नेपाल भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानकूल बनाउन दुई देशको वाणिज्य सचिवस्तरीय बैठक सम्पन्न भएको छ । 

बैठकमा व्यापार र पारवहनसँग सम्बन्धित विषयलाई छलफल तथा पुनरवलोकन गर्ने विषयमा सहमति भएको छ । सो बैठकमा नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका तर्फबाट रीता तोतियाले नेतृत्व गरेका थिए । 

बैठकमा दुई देशबीचको व्यापार विस्तार, सहजीकरण तथा लगानीका विविध आयामका बारेमा छलफल भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही वैशाख १३ र १४ गते काठमाडौँमा भएको दुई देशको सचिवस्तरीय बैठकमा सन् २०१८ को जुलाईमा दुई देशबीचको वाणिज्य सन्धिको पुनरवलोकन गर्ने गरी बैठकको आयोजना गर्न सहमतिसमेत भएको छ । 

एशियाडलाई कराते खेलाडी छनोट– आगामी भदौमा इन्डोनेसियामा हुने १८औँ एशियाली खेलकूद (एशियाड)का लागि कराते खेलाडी छनोट भएका छन् । 

समान ४–४ पुरुष÷महिला गरी आठ खेलाडी छनोट भएको रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए । छनोट भएका एकबाहेक सबै विभागीय टोलीका खेलाडी हुन् ।

पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बास्तोला, ५५ केजीमा नेपाल प्रहरीका सोनाम लामा, ६७ केजीमा काठमाडौँका नवीन रसाइली र ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ छनोट भए ।

यता महिला तर्फको एकल कातामा प्रहरीकी चन्चला दनुवार, ५० केजीमा एपिएफकी अनु अधिकारी, ६१ केजीमा प्रहरीकी सुनिता महर्जन र ६८ केजीमाथि सेनाकी रीता कार्की छनोट भए ।

salt training

कमेन्ट गर्नुहोस्