२९ असार २०८३, सोमबार

अब आधा घण्टा छिटो चल्नेछन् उत्तर कोरियाली घडी !

बैशाख १७, २०७५
अब आधा घण्टा छिटो चल्नेछन् उत्तर कोरियाली घडी !

काठमाडौं, १७ वैशाख- उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधारको प्रयास जारी छ ।

गत साता उत्तर कोरियाली शासक किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच भेटवार्ता भयो । त्यसक्रममा दुई देशबीच भएको शिखर वार्ताले पानजुममोन घोषणापत्र पनि जारी गर्‍यो ।

त्यसअघि सुध्रिँदै गएको दुई कोरियाबीचको सम्बन्धमा अब नयाँ आयाम थपिने भएको छ । उत्तर कोरियाले आफ्नो 'टाइम जोन' (समय) दक्षिण कोरियासँग मिलाउँदै छ ।

दुई देशबीच युद्धपछि अलग-अलग टाइम जोन थियो । उत्तर कोरियाली समय दक्षिण कोरियाभन्दा ३० मिनेट ढिला थियो । दुई कोरिया विभाजन हुनुअघिको समयलाई उत्तर कोरियाले आधिकारिक बनाएको थियो ।

कोरियन समाचार संस्थाका अनुसार गतसाता जब किम दक्षिण कोरियाको सीमामा आए, त्यतिबेला सीमामै राखिएका दुई देशका घडीले छुट्टाछुट्टै समय देखाइरहेका थिए । त्यो देख्दा दु:ख लागेको भन्दै किमले दुई देशको समयलाई एक बनाउने संकल्प तत्काल गरेका थिए ।

उत्तर कोरियाली संसदले पनि कोरियाली टाइम जोन मिलाउने सम्बन्धी प्रस्ताव सोमबार पारित गरेको छ ।

अब ५ मे बाट दुवै देशका घडीले एउटै समय देखाउने छन् । उत्तर कोरियाली घडीहरू अब साबिकभन्दा आधा घण्टा छिटो हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्