
काठमाडौं, २० वैशाख- विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक ध्रुवीकरणका लागि अपिल गरेको छ ।
पार्टी संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले बिहीवार एक विज्ञप्ति जारी गरी ध्रुवीकरणका लागि अपिल गरेका हुन् ।
'वैकल्पिक राजनीतिलाई आउँदो निर्वाचनपछि निर्विकल्प नेतृत्वका रूपमा स्थापित गर्न हामी समान सोच र विचारधारा भएका आम सर्वसाधारण, सबै पार्टीका समर्थक, कार्यकर्ता, स्थानीय तथा केन्द्रीय नेताहरूलाई वैकल्पिक राजनीतिमा ऐतिहासिक ध्रुवीकरणका लागि आह्वान गर्दछौँ,' विज्ञप्तिमा भनिएको छ, 'तत्काल त्यसतर्फ कदम चालिहाल्न आग्रह गर्दछौँ । हामी जति छिटो एउटै सङ्गठित शक्ति बन्दछौँ, आउँदो निर्वाचनमा हामी त्यति नै बढी तयारी र दृढताका साथ प्रस्तुत हुन सक्छौं ।'
ध्रुवीकरण र अन्य पार्टीसँग एकताका लागि ३ सदस्यीय वार्ता समिति समेत गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । 'पार्टीले प्रवक्ता डा. सूर्यराज आचार्य, पार्टीको प्रदेश नं ३ को संसदीय दलका नेता रमेश पौड्याल तथा सङ्गठन विभागका प्रमुख मुमाराम खनाल सम्मिलित वार्ता समिति गठन गरिसकेको छ,' विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
वैकल्पिक राजनीतिक ध्रुविकरणका लागि आह्वान
प्रेस विज्ञप्ति
नेपाली राजनीतिका पछिल्ला वर्षहरूमा सशक्त वैकल्पिक राजनीतिक दलको आवश्यक्ता महसुस गरिएको र त्यही परिप्रेक्ष्यमा उदाएको विवेकशील साझा पार्टीले छोटो अवधिमैं दशकौँदेखि जकडिएको नेपाली राजनीतिमा विकल्पको आशा जगाएको यहाँहरूलाई विदितै छ।
राष्ट्रिय पार्टी बन्ने लक्ष्यका साथ गत आम चुनावमा होमिएको विवेकशील साझा थोरै मतका कारण राष्ट्रिय पार्टी बन्न सकेन तर हामी २ लाख १२ हजार भोटका साथ देशको छैटौँ ठुलो र प्रदेश ३ मा प्रादेशिक मान्यता प्राप्त दलको हैसियतमा चौथो ठुलो पार्टी बन्न सफल भयौँ।
वास्तवमा वैकल्पिक भनिने गरेको राजनीति नेपालको रहर होइन बाध्यता हो। पुराना स्थापित दलहरूले राजनीतिलाई क्रमिकरूपमा परिष्कृत गर्दै लगेको भए वैकल्पिक राजनीतिको आवश्यक्ता नै पर्ने थिएन। तर २७ वर्षअघि लोकतन्त्रको पुनर्स्थापना भएयता ती दलका नेताहरूले आफ्ना असल कार्यकर्ता र आम नागरिकलाई भ्रममा पार्दै आफूहरूलाई ‘सफा’ र राजनीतिलाई ‘फोहोर’ बनाएको अनि आफूहरूलाई ‘सुखी’ र आम जनतालाई ‘दुखी’ राखेको तथ्य कसैबाट लुकेको छैन।
लामो राजनीतिक सङ्क्रमण पछि स्पष्ट जनमत पाएको वामगठबन्धनको शक्तिशाली सरकारको विकास र संवृद्धिको एजेन्डा सिर्फ भाषणमा मात्र सीमित हुने हो कि भन्ने आशङ्का बढ्दो छ। सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु पर्ने प्रमुख प्रतिपक्ष रनभुल्लको अवस्थामा देखिन्छ। राज्य दोहन र तमाम विकृतिलाई प्रश्रय दिने यी दलहरूको सङ्गठनात्मक स्वरूप र राजनीतिक कार्यशैली मुलुकको प्रगतिको मूल बाधक बनेको छ र दलभित्रका असल नेता कार्यकर्ता स्वयम् यसको बन्दी बनेका छन्। आम नेपाली नागरिकले आफ्नो बाँकी जीवन र आफ्ना सन्ततिका लागि अपेक्षा गरेको संवृद्ध नेपाल निर्माण गर्न यी दलहरूको राजनीतिक शैलीले सम्भव देखिँदैन।
प्रमुख पार्टीका अधिकांश नेतृत्व नेपाली राजनीतिलाई विकृत बनाउने नातावाद, कृपावाद, भ्रष्टाचार र समाजको अनावश्यक राजनीतिकरणबाट माथि उठ्नै सकेका छैनन् र उठ्ने सङ्केत पनि देखाएका छैनन्। त्यस्तो परिप्रेक्ष्यमा वैकल्पिक राजनीतिको महत्त्व र सान्दर्भिकता अझ बढेको हामीले महसुस गरेका छौँ।
त्यसैकारणले आउँदो आम निर्वाचनपछि देशको एक नम्बर पार्टी बनेर यो देशलाई हाम्रै जीवनकालमा रूपान्तरण गर्ने दृढ लक्ष्यका साथ अगाडि बढ्न हामीले अहिलेदेखि नै तयारी सुरु गरिसकेका छौँ। तर लुटतन्त्र अन्त्य गर्ने, राजनीति सफा तुल्याउने र यो देश संवृद्ध बनाउने महाअभियानका लागि आम नागरिकका साथसाथै विभिन्न दलसँग स्थानीयदेखि केन्द्रीय तहसम्म आबद्ध इमान, क्षमता र दृढता भएका र आफू आबद्ध पार्टीबाट यो देशको रूपान्तरण सम्भव देख्न छोडिसकेका सबै राजनीतिकर्मीहरू पनि एक ठाउँमा आउन नितान्त जरुरी छ।
सुमन भएका नेपालभित्र र नेपाल बाहिरका सारा नेपालीहरू एक जुट नहुने हो भने हामी विगतमा जस्तै आशै आशामा रूमल्लिने छौँ र यो देशको ठोस रूपान्तरण नहेरी देह त्याग गर्न बाध्य हुनेछौँ भन्ने हाम्रो निर्क्यौल हो। देश नबन्ने हो भने हाम्रो व्यक्तिगत सफलताको खासै अर्थ रहँदैन।
तसर्थ, वैकल्पिक राजनीतिलाई आउँदो निर्वाचनपछि निर्विकल्प नेतृत्वका रूपमा स्थापित गर्न हामी समान सोच र विचारधारा भएका आम सर्वसाधारण, सबै पार्टीका समर्थक, कार्यकर्ता, स्थानीय तथा केन्द्रीय नेताहरूलाई वैकल्पिक राजनीतिमा एतिहासिक ध्रुविकरणका लागि आह्वान गर्दछौँ र तत्काल त्यसतर्फ कदम चाली हाल्न आग्रह गर्दछौँ। हामी जति छिटो एउटै सङ्गठित शक्ति बन्दछौँ, आउँदो निर्वाचनमा हामी त्यति नै बढी तयारी र दृढताका साथ प्रस्तुत हुन सक्छौँ।
विवेकशील साझा पार्टीले त्यसका लागि पार्टीका प्रवक्ता डा सूर्यराज आचार्य, पार्टीको प्रदेश नं ३ को संसदीय दलका नेता रमेश पौड्याल तथा सङ्गठन विभागका प्रमुख मुमाराम खनाल सम्मिलित वार्ता समिति गठन गरिसकेको छ।
आउनुहोस्, एक भएर हामी यो देश हाम्रै जीवनकालमा रूपान्तरण गरिछाड्ने प्रण गरौँ!
संयोजक
रवीन्द्र मिश्र, उज्वल थापा
विवेकशील साझा पार्टी
२० वैशाख २०७५