
काठमाडौं–पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले स्वास्थ्य संस्थामा हुने तोडफोड अस्वीकार्य भएको बताएका छन् ।
मंगलबार एक सय २९ औं श्रम दिवसका अवसरमा ओम हस्पिटल कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रशासनले गोप्य रुपमा तोडफोडका घटना साम्य पार्ने प्रयास गर्दा समस्या बल्झने गरेको टिप्पणी गरे । काठमाडौं क्षेत्र नम्बर ४ का सांसदसमेत रहेका थापाले स्वास्थ्य क्षेत्रमा धेरै विकृति रहेको औल्याउँदै प्रभावकारी स्वास्थ्य ऐन निर्माण र कार्यान्वयनमा जोड दिए ।
कार्यक्रममा ओम हस्पिटल कर्मचारी युनियनका अध्यक्ष केशवप्रसाद चौलागाईंले संस्थाको समग्र हितसँगै कर्मचारीको वृत्ति विकासलाई युनियनले विशेष प्राथमिकता दिएको बताए ।
युनियनका वास्तविक माग वेवास्ता गर्दै प्रशासन अघि बढेमा त्यसपछि उत्पन्न हुने परिणामको जिम्मेवार प्रशासन नै हुने चौलागाइको भनाइ थियो । युनियनका उपाध्यक्ष विक्रम मुडभरीले कर्मचारी दास हुन् भन्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए ।
अस्पतालका प्रवबन्ध सञ्चालक बाबुकाजी कार्कीले प्रशासन टिमवर्कमा विश्वास राख्ने भन्दै कर्मचारीको क्षमता अभिवृद्धि गर्न आफूहरु तयार रहेको बताए । कुनै समस्या भए खुला रुपमा प्रशासनसमक्ष राख्न उनले कर्मचारीलाई आग्रह गरे ।