
अफगानिस्तान, २० वैशाख- अफगानिस्तानको उत्तरी प्रान्तमा विद्यालयका छात्राहरूमाथि भएको ग्यास आक्रमणमा परी कम्तिमा ४५ छात्रा घाइते भएका छन् ।
घाइतेहरू सबैलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको अफगानी अधिकारीले जनाएका छन् । अफगानिस्तानको ताखार प्रान्तमा बिहीबार यो घटना भएको हो ।
“खवाजा बौद्धिन जिल्लामा रहेको बानान मिडल स्कूलका छात्राहरूमाथि कक्षा कोठामै आक्रमण भएको हो, आक्रमणमा परी ४५ भन्दा बढी छात्रा घाइते भएका छन्,” प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खलिल असिरले बताउनुभयोे ।
उहाँले घाइतेहरु सवैलाई स्थानीय अस्पतालहरुमा उपचार गरिएको पनि सिन्ह्वालाई जानकारी दिनुभयो । प्रभावित विद्यार्थीहरूले दुर्गन्धित ग्यास जोडले कोठा भित्र पसेको बताएका छन् ।
घटनाका बारेमा तत्काल अनुसन्धान सुरु गर्न र दोषीलाई कारबाही गर्न निर्देशन दिइसकिएको प्रहरी प्रवक्ता असिरले जानकारी दिनुभयो ।
अफगानिस्तानमा लडाकूहरूले बेला बेलामा विद्यालयहरूमा यस्ता आक्रमण गर्ने गरेका छन् ।