२८ असार २०८३, आइतबार

पदाधिकारी मनोनयन गर्न कांग्रेसको बैठक, पौडेल समूहद्वारा बहिष्कार

बैशाख २१, २०७५
पदाधिकारी मनोनयन गर्न कांग्रेसको बैठक, पौडेल समूहद्वारा बहिष्कार

काठमाडौँ, २१ वैशाख- रिक्त पदाधिकारी मनोनयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार दिउँसो २ बजे काँग्रेसका निर्वाचित पदाधिकारी एवं सदस्यको बैठक बस्ने भनिएपनि साँझ साढे पाँच बजेमात्र बैठक शुरु भएको छ ।

बैठकमा पदाधिकारी मनोनयनको कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ । तर पार्टी सभापति देउवाले एकलौटी गर्न खोजेको भन्दै देउवा पक्षले बैठक बहिष्कार गरेको छ ।

विधानको दफा २१ मा ८५ सदस्यीय केन्द्रीय समिति गठनको व्यवस्था छ । त्यसमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्षसहित ६४ जना निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान छ । विधानमा पार्टी सभापतिले एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीसहित बाँकी सदस्य मनोनयन गर्ने व्यवस्था छ ।

बैठकमा सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतको नाम प्रस्ताव गर्ने तयारी गरेका  संस्थापन पक्षका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार यसअघि सभापति देउवाले सहमहामन्त्री पद नेता पौडेल पक्षलाई दिने मनसाय बनाएको भए पनि पार्टीभित्रको पछिल्लो घटनाक्रमले त्यसमा फेरबदल आएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले भने महाधिवेशन भएको दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन दुई वर्षसम्म पनि नगर्दाको अवस्थामा विधानको प्रावधानलाई समेत सम्बोधन गर्ने गरी सहमतिमै पदाधिकारी मनोनयन गर्नुपर्ने पक्षमा छन् ।

साथै मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) पार्टीसँग एकीकरणका बेला भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदार र सो दलका नेतालाई समेत व्यवस्थापन गर्ने गरी निर्णय गर्नुपर्ने केन्द्रीय सदस्य दीलेन्द्र बडूको भनाइ छ ।

सभापति देउवाले भने तत्काल नेता गच्छदारलाई वरिष्ठ नेता पौडेलपछिको वरियतामा वरिष्ठ नेताको स्थान दिने तयारी गरेका छन् ।  काँग्रेसको हालको विधानले निर्वाचित केन्द्रीय सदस्यलाई मात्र पदाधिकारीमा मनोनयन गर्न पाउने व्यवस्था गरेको छ ।

यसअघि पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी एवं सदस्यको बैठक यही वैशाख १७ गते बस्ने भनिएकामा विशेष कारणवस स्थगित भएपछि बैठक आजका लागि बोलाइएको हो ।

वरिष्ठ नेता पौडेल पक्षले केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी मनोनयन सम्बन्धमा आन्तरीक छलफल गर्दैछ भने सभापति देउवा पक्षले सबै पदाधिकारी आफ्नै पक्षबाट मनोनयन गर्ने तयारी गरेको छ ।

यस अघि पार्टी केन्द्रीय कार्यसमिति बैठकमा निर्वाचनमा पार्टी पराजयको जिम्मा कसले लिने भन्ने सम्बन्धमा पनि दुबै पक्षबीच विवाद भएको थियो । अन्ततः गत चैत ९ गतेदेखि वैशाख १६ सम्म चलेको समीक्षा बैठकले पार्टी प्रतिकूल भएको निर्वाचन परिणामको जिम्मेवारी केन्द्रीय समितिले लिने निर्णय गरेको थियो ।

सो बैठकले काँग्रेसजिल्ला सभापति भेला आगामी जेठ अन्तिम सातामा आयोजना गर्ने, पार्टीको विधानलाई परिमार्जन एवं संशोधनलगायतका कार्य आगामी भदौमा हुने पार्टी महासमितिको बैठक गर्ने तयारी पनि गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्