
काठमाडौं, २७ वैशाख– सरकारले तराईका धनुषा, महोत्तरी, सिरहालगायत जिल्लाका आँधीबेहरी पीडितलाई तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि तत्काल आवास व्यवस्थापनका लागि दुई बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
बैठकले गत असार/साउन महिनामा आएको बाढी र केही समयअघि परेको असिनाबाट प्रभावित जनताका लागि तोकिएको राहत उपलब्ध गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।
मन्त्रिपरिषद्ले सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन, २०७५ स्वीकृत गरेको छ ।
विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
सबै नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराउने उद्देश्यसहित सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत गरेको छ । दिगो विकासको लक्ष्य निर्धारण गर्न गरिबीको अन्त्य गर्नेतर्फ केन्द्रित भएर बजेट ल्याउने सरकारको तयारी छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै दु्रतमार्ग, रेलमार्ग, ठूला पूर्वाधार निर्माणलाई प्राथमकिता दिइने तथा यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताए ।
देश र स्थानीय तहलाई जनशक्ति सम्पन्न बनाउने लक्ष्य प्रस्तुत गर्दै मन्त्री खतिवडाले भूकम्प पछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सामाजिक सुरक्षालगायतका विषय आगामी बजेटमा प्राथमिकताका साथ समावेश गरिने जानकारी दिए ।
बैठकले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’, ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’, ‘बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५’ लाई बहुमतले स्वीकृत गरेको छ ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
पार्टी एकता, सरकारको नीति तथा कार्यक्रम र आसन्न बजेटका सम्बन्धमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
दुई पार्टीको कार्यदलस्तरबाट तयार भएको वैचारिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिई एकता संयोजन समितिमा प्रस्ताव गर्ने जिम्मेवारी पाएका दुई अध्यक्षले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सो बारे निर्णय लिनेबारे छलफल भएको बताइएको छ ।
घुस लिँदै गरेका तीन कर्मचारी पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका तीन जना कर्मचारीलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको छ ।
आयोगको बाँके कोहलपुरस्थित क्षेत्रीय कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार, प्राधिकरणका इलेक्ट्रिकल इञ्जिनियर निसारअहमद खान, इलेक्टिकल सुपरभाइजर विक्रान्त शुक्ला र सहयोगी गिरवरलाल धोबीलाई सेवाग्राहीबाट रु १५ हजार घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।
पक्राउ परेका तीनैजनाले सेवाग्राहीलाई मिटर जडान गरिदिने र नामसारी गरिदिने भनेर घुस माग गरेको बताइएको छ ।
प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य
प्रदेश नं १ को पहिलो प्रदेशसभा अधिवेशन ११ वटा विधेयक पारित गर्दै अन्त्य भएको छ । अधिवेशन बुधबारराति १२ बजेदेखि अन्त्य भएको हो । प्रदेशसभाको पहिलो बैठक गत माघ २२ शुरु भएको थियो ।
प्रदेशसभाको पहिलो अधिवेशनले प्रदेशसभा नियमावली २०७४, प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४, विनियोजन विधेयक, प्रदेश सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि विधेयक), गाउँसभा र नगरसभा सञ्चालन (कार्यविधि) विधेयक २०७५ पारित गरेको थियो ।
यसैगरी, आकस्मिक कोष सञ्चालन विधेयक २०७५, जिल्लासभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पनि यो अधिवेशनबाट पारित भयो ।
धरहरा परिसरमा नयाँ संरचना बनाउन रोक
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाबीच धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाउने सहमति भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको संयोजकत्वमा सिंहदरबारमा बसेको प्राधिकरण, महानगरपालिका, पुरातत्व विभाग, गुठी संस्थानसहित सरोकार भएका निकायको संयुक्त बैठकले धरहराको पुनःनिर्माणमा सुन्दरतालाई असर पार्नसक्ने भन्दै यस्तो निर्णय गरेको हो ।
अर्काे सूचना जारी नभएसम्मका लागि धरहरा परिसरमा निर्माण भइरहेका संरचना रोक्का गर्ने निर्णय भएको हो । संस्थानले आफ्नो हकभोगमा रहेको जग्गामा ठेक्कापट्टा लगाएको भए त्यसलाई तोड्नसमेत बैठकले निर्देशन दिएको प्रमुख कार्यकारी अधिकृत भुसालले बताए ।
बैठकमा महानगरपालिकाले धरहरा परिसरमा भाडामा लगाएका सटर १५ दिनभित्र खाली गराउने सहमति भएको छ ।
मोदीको भ्रमण तयारी तीव्र
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संसदलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे जानकारी गराएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले बैशाख २८ र २९ गते नेपालको राजकीय भ्रमण गर्न लागेको सदनलाई जानकारी गराइएको हो । भारतीय प्रधानमन्त्री मोदीले २८ गते नै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री बीच भेटवार्ता गर्ने कार्यतालिका रहेको ज्ञवालीले जानकारी दिए ।
मोदीको भ्रमणलाई लिएर तयारी तीव्र पारिएको छ भने सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ ।
सी जिनपिङ सर्वाधिक शक्तिशाली
चीनका राष्ट्रपति सी जिनपिङ विश्वका सर्वाधिक शक्तिशाली ब्यक्तिको सुचीको पहिलो स्थानमा परेका छन् । फोर्बसले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चार पटकसम्म पहिलो स्थानमा रहिसकेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै पहिलोपटक चीनका राष्ट्रपति सीले शीर्ष स्थान हासिल गरेका हुा् ।
त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो अधिक लोकप्रियताका कारण यस वर्ष नवौँ स्थानमा परेका छन् । भारतबाट उनका साथै चर्चित व्यवसायी मुकेश अम्बानीले पनि यस सूचीमा ३२ औँ स्थान प्राप्त गरेका छन् ।
क्रिकेट प्रतियोगिता वैशाख ३० देखि
नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बीबीए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने छन् ।
प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा कलेजले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु ५० हजार तथा उपविजेताले रु २५ हजार पाउनेछन् ।