०१ असार २०८३, सोमबार

प्रमुख समाचार : यस्तो छ मोदीको आजको कार्यक्रम, सुनकाण्डको भिडियो प्रमाण रोकियो

बैशाख २९, २०७५
प्रमुख समाचार : यस्तो छ मोदीको आजको कार्यक्रम, सुनकाण्डको भिडियो प्रमाण रोकियो

काठमाडौं, २९ बैशाख -  दुई दिने राजकीय भ्रमणको सिलसिलामा शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार बिहान मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ प्रस्थान गर्दैछन् । मुक्तिनाथमा पूजापछि उनी बिहान करीब १०ः३० बजे काठमाडौँ फिर्ता हुनेछन् ।  प्रधानमन्त्री मोदीलाई शनिवार दिउँसो २ः४५ बजे काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ । दुईदिने नेपालको राजकीय भ्रमण पूरा गरी उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । 
मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार  जनकपुर आएका थिए  । 

एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलमा आएका हुन्  । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गरेका थिए  । 

प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो । जनकपुरको कार्यक्रम सकेर उनी काठमाडौँ प्रस्थान गरेका थिए |

भिडियो प्रमाण रोकियो
साढे ३३ किलो सुनको सुराक लिने क्रममा सनम शाक्यको हत्यामा संलग्न भएका, उक्साएका, हत्यापछि शव लुकाउन सहयोग गरेका र मुख्य अभियुक्त गोरेलाई भगाउन सहयोग गरेको प्रमाणलाई भिडियो तथा अडियो मार्फत सार्बजनिक गर्न रोक लगाइएको छ । 
जिल्ला अदालत मोरङमा जारी बहसका क्रममा वादीका तर्फबाट बहस गर्ने सरकारी वकिलहरुले इजलाशमा प्रमाणको रुपमा भिडियो देखाउन खोज्दा प्रतिवादीको प्रतिरक्षामा वकालत गर्ने वकिलहरुले त्यसमा अबरोध गरेका हुन्  । 

सरकारी वकिलले आफ्नो बहस सकेलगत्तै भिडियो देखाएर बयानमा बोलिएका विषय र बहसमा उठाइएका दाबी प्रमाणित गर्ने भिडियो देखाउने कार्यक्रम रहेको थियो ।
पाँच मिनेटसम्म गोरेले सनमलाई हत्या गर्न अपनाएको कठोर बिधि र शव ब्यवस्थापनका लागि गरिएका योजनाहरु हेरेपछि कानूनव्यवसायीले त्यसलाई रोक्न भनेका थिए । 
हत्या गर्न अपनाइएको कठोर विधी र शव व्यवस्थापनका लागि गरिएका योजनाहरु देखाएर लगाइएको अभियोग सरकारी वकिलहरुको तर्फबाट पुष्टि गर्ने प्रयास भएको थियो । तर त्यसबाट अभियुक्तहरुमा नकारात्मक असर पर्ने र एकले अर्कोलाई लगाएको आरोपका कारण अझ उनीहरु भित्रै अपराध बढ्ने भन्दै प्रतिवादीको तर्फबाट वकिलले रोकेपछि त्यसलाई न्यायाधीशलाई उपलब्ध गराईएकोले न्यायाधीशले हेर्ने र सरकाररी वकिलले उपलब्ध गराएकोले त्यो देखाई रहन जरुरी नभएको भन्दै प्रतिवादीका वकिलहरुबाट त्यस्ता कुरा आएपछि रोकिएको थियो । विरोधपछि संकलित सबै प्रमाणलाई न्यायाधीश नारायण प्रसाद शर्माले प्रमाणको रुपमा अध्ययन गर्ने बताएसँगै भिडियो देखाउन रोकिएको थियो । 
अवैध सुन र सनम शाक्य हत्याका अभियुक्त गोरे भनिने चुडामणी उप्रेतीका गतिविधी, उनले गरेका फोन संवाद, गजृहमन्त्रालयद्वारा गठित समितिसँग अभियुक्तले दिएको बयान लगायत भिडियो थियो । प्रतिवादी पक्षका वकिलले गोरेले सनम शाक्यको हत्यामा दिइएको यातना र हत्यापछि लासलाई ब्यवस्थापनका लागि गरेको कुराकानीलाई इजलाशमा  हेर्दाहेर्दै अस्वीकार गरेका थिए । प्रतिवादीको तर्फबाट आएको आग्रहलाई इजलाशले त्यसलाई प्रमाणको रुपमा राखेर अध्ययन गर्ने बिषयमा देखाउन रोकिएको थियो । 
जिल्ला सरकारी वकिलको मोरङका न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले प्रतिवादीको तर्फबाट वकिलहरुले नदेखाउन र  न्यायाधीशले आफुले स्वयम हेरेर निर्णय लिन सक्ने भएकोले नदेखाउन भन्दै रोकेको बताए । 
अनुसन्धान सकिएर अदालतमा अभियोग दायर भइसकेपछि सबै प्रमाण देखाउन पाउने अधिकार वादी पक्षलाई छ । तर प्रतिवादी पक्षका कानून व्यवसायीहरु अत्तालिएको सरकारी वकिलहरु बताउँछन् । उच्च सरकारी वकिल कार्यालय विराटनगरका सह न्यायाधिवक्ता चिरन्जीबी पराजुलीले सबै प्रमाणहरु वाहिर छर्लङग हेरेपछि दावी प्रस्तुत गर्न नसक्ने भएकोले विरोध गरिएको हुनसक्ने बताए ।    
सुनकाण्डबारे भइरहेको बहसबारे जानकारी लिन जिल्ला अदालत मोरङमा उपस्थित भएका सर्वसाधारणले भने बहसका क्रममा प्रतिवादीतर्फका वकिलले नौटंकी गरेको आरोप लगाए । ‘बहसका क्रममा प्रमाण नै देखाउन नदिनु अदालती प्रक्रियामाथि कै अवरोध हो,’ अदालत परिसरमा भेटिएका एक सर्वसाधारणले भने, ‘प्रमाण नै बाहिर आउँदा आफू तल पर्ने देखेपछि प्रतिवादीका वकिलहरुले नौटंकी गरेका हुन् ।’

दुवै देशका विकासका नारा परिपूरक मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड समृद्ध र सशक्त नेपाल बनाउने सबै नेपालीको आकांक्षालाई भारतले भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । 

नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा भारतको साथ र सहयोग रहने बताए  । 

आफ्नो सरकारले भारतमा विकासका लागि ‘सबका साथ सबका विकास’ को नारा अघि सारेको र नेपालमा पनि प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा अघि सारेको  उल्लेख गर्दै उनले दुवै नारा एकअर्काका परिपूरक भएको टिप्पणी गरे  । 

नेपाल र भारतबीचको सम्बन्ध सरकारभन्दा माथि रहेको चर्चा गर्दै प्रधानमन्त्री मोदीले दुई देशको सम्बन्ध जनस्तरमा गहिरो र मित्रतापूर्ण रहेको चर्चा गरे  । उनले भने , “मेरो नेपाल यात्रा एक यस्तो ऐतिहासिक समयमा भएको छ जतिखेर नेपालमा तीन तहका निर्वाचन सफलरुपमा सम्पन्न भएका छन्, नेपालको इतिहासमा यो काल स्वर्णीम अक्षरले लेखिनेछ ।” 

आफू प्रधानमन्त्री भएपछि तेस्रो पटक नेपाल भ्रमणमा आएको बताउँदै उहाँले यसबाट नै आफ्नो र भारतसँगको नेपाल सम्बन्ध कति गहिरो छ भन्ने पुष्टि भएको उल्लेख गरे  । प्रधानमन्त्री मोदीले विकास यात्रा र राष्ट्र निर्माणका लागि प्रधानमन्त्री ओलीको नेतृत्व भरोसा प्राप्त भएकामा शुभकामना व्यक्त गरे  । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला दुई देशको विकासको सम्भावनाका बारेमा प्रशस्त छलफल भएको बताउँदै उनले छोटो समयमा नै नेपाल र भारतबीचमा विभिन्न मुद्दामा छलफल भई कतिपय मुद्दामा कामसमेत भएको बताए |
भारतीय प्रम मोदीको सम्मानमा रात्रिभोज
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको सम्मानमा शुक्रबार  साँझ यहाँ रात्रिभोजको आयोजना गरे  । 

त्यस अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रिपरिषद्का सदस्य, प्रदेश नं ३ का प्रमुख, पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका प्रमुख, सांसद, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति, त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायतको उपस्थिति थियो । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीको रात्रिभोजमा सहभागिता थियो । 

अरुण तेस्रोको शिलान्याश
नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको राजकीय भ्रमणमा रहेका  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्याश गरेका छन्  । 

भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको सो आयोजनाको प्रधानमन्त्री ओली र उनका  भारतीय समकक्षीले ‘स्वीच अन’ गरेर शिलान्याश गरे  । शिलान्याश समारोहमा मन्त्रिपरिषद्का सदस्यको सहभागिता थियो । यस्तै भारतीय अधिकारीको समेत उपस्थिति थियो । 

संखुवासभामा आयोजनास्थल रहेको सो आयोजनाको आयोजनास्थलबाट नेपाल टेलिभिजनले प्रत्यक्ष दृश्य प्रसारण गरेको थियो भने होटल द्वारिकामा आयोजित समारोहमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीले स्वीच अन गरेका हुन्  । 

आयोजनास्थल फ्याक्सिन्दा दोभान र शिलान्याश स्थल ‘भिडियो कन्फेरेन्स मार्फत’ जोडिएको थियो । लगानी बोर्डले अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएन नेपाललाई यही वैशाख २० गते विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । 

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले महत्वपूर्ण जलविद्युत् आयोजनाको निर्माण शुरुआत भएको जानकारी दिए  । शिलान्याशपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । 

नौ सय मेगावाट क्षमताको उक्त आयोजना भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्न लागेको हो । सतजलले आयोजना निर्माणका लागि नेपालमा एसजेभिएन नेपाल नामक कम्पनी दर्ता गरेको छ । 


अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने
नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाएका हुन्  । शुक्रबार  साँझ आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पञ्चेश्वर आयोजनालाई शीघ्र अगाडि बढाइने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिए  । 

जनकपुर भ्रमण यादगारः भारतीय प्रम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्ने धेरै वर्षदेखिको इच्छा पूरा भएको बताएका छन्  । 

नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा जनकपुर आएका  प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा रहेको आगन्तुक पुस्तिकामा ‘नेपाल र भारत दुवै देशका तीर्थालुको धार्मिक तीर्थस्थलको यात्रा आफ्ना लागि यादगार’ रहेको उल्लेख गरेका छन्  । 

भारतीय प्रधानमन्त्री मोदीसँग पूर्वप्रधानमन्त्रीहरुको भेटवार्ता
नेपालको राजकीय भ्रमणमा रहेका  भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका पूर्वप्रधानमन्त्रीहरुबीच भेटवार्ता भएको छ । 

होटल द्वारिकाजमा भएको उक्त भेटवार्तामा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, भलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल‘प्रचण्ड’मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीको सहभागिता थियो । 

भेटवार्तामा आपसी हित र चासोका विभिन्न विषयमा छलफल भएको थियो । 

दुई प्रमबीच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता भएको छ । 

यहाँस्थित द्वारिकाज होटलमा भएको एक्लाएक्लै भेटवार्तामा भएको द्विपक्षीय आपसी हितका विविध विषयमा विचारविमर्श भएको बताइएको छ । 

राष्ट्रपति भण्डारी र भारतीय प्रम मोदीबीच भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको भ्रमणमा रहेका  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । 

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि  मोदीले शिष्टाचार भेट गरे  । 

आइतबार उपत्यकामा सार्वजनिक बिदा

आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा हुने भएको छ । 

गृह मन्त्रालयले  सूचना जारी गर्दै वैशाख ३० गते सार्वजनिक बिदा हुने जानकारी दिएको हो

१२१ किलोका तीन वटा मालाबाट सम्मान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोका तीन वटा मालाको सम्मान दिइएको छ । 

उनलाई नागरिक अभिनन्दनका क्रममा प्रदेश नं. २ का सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोका छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । 

मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन पनि गरिएको छ । जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले उनलाई मैथिली भाषामा लेखिएको अभिनन्दनपत्र प्रदान गरी सम्मान गरे | यसअघि  भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरे  । 

salt training

कमेन्ट गर्नुहोस्