काठमाडौँ, ३१ वैशाख - जगन्नाथपुरीस्थित पूर्व यामना ऋग्वेद गोवद्र्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज पशुपति क्षेत्र विकास कोषले अभिनन्दन गरेको छ ।
नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवद्र्धनमा पु-याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो ।
उनले वैदिक दर्शनलाई आधार मानेर १६७ वटा पुस्तक लेखेको सो अवसरमा जानकारी गराइयो ।
शंकराचार्य निश्चलानन्द सरस्वतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका रवीन्द्रप्रसाद अधिकारीले फूलमाला र अभिनन्दनपत्रसहित सम्मानगरे ।
कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीलगायतले फूलमालासहित उनलाई स्वागत अभिनन्दन गरे ।
यसअघि आजै बिहान उनले पशुपतिनाथ मन्दिरमा वैदिक विधिपूर्वक विशेष पूजा गरे ।