
काठमाडौं, २ जेठ–मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त हुँदा दुई जनाले ज्यान गुमाए ।
नाइन एन एयूजे कलसाइनको विमानका चालक किरण भट्टराइ र सहचालक आदित्य नेपालीले ज्यान गुमाएका हुन् ।
सुर्खेत विमानस्थलबाट विहान ६ बजेर १२ मिनेटमा सिमिकोटको लागि उडेको विमान ६ बजेर २७ मिनेटमा अन्तिमपटक सम्पर्कमा आएको थियो । विहान हराएको विमान मध्याह्न १२ बजेको आसपास मात्र फेला पर्यो ।
एकल इन्जिनयुक्त विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा टुक्राटुक्रा अवस्थामा फेला परेको थियो । विमानका चालक किरण र सहचाल आदित्यको शव हेलिकप्टर मार्फ सुर्खेत हुँदै काठमाडौं ल्याइएको छ ।
दुर्घटनामा दुईपटक बाँचेका थिए पाइलट
पाइलट किरण यसअघि दुईवटा दुर्घटनामा बाँच्न सफल भएका थिए । पहिलोपटक २०७० सालको जेठ १८ गते उनी सिमिकोट विमानस्थलमा पाँच यात्रु सवार विमान अवतरण गर्ने क्रममा भएको दुर्घटनामा परेका थिए ।
सिमिकोट विमानस्थतलमा सीता एयरको नाइन एन एनएचबी कलसाइनको विमान अवतरण गर्ने क्रममा पङखा धावनमार्गमा घस्रिएको थियो त्यस क्रममा विमान अनियन्त्रित भयो । विमानस्थलमा उनी ठूलो दुर्घटनामा बच्न सफल भए ।
त्यस्तै एक महिना अघि चैत २६ गते पनि पाइलट किरण अर्को दुर्घटनाबाट बचे ।
मकालु एयरको विमान हुम्लाबाट सुर्खेतका लागि उडान भर्न लागेको समयमा टेक अफ –उड्न तयार) थियो । रनवेमा गुडिरहेको विमानमा उनले समस्या भएको थाहा पाए । तत्काल उडान रोके । विमानले उडान भरेको भए त्यससयम ठूलै दुर्घटना हुने समाचारहरु सार्वजनिकभएका थिए । विमानमा चालक दलका दुई सदस्यसहित १२ जना सवार थिए ।
तर, बुधबार(आज) उनको विमान दुर्घटना हुनबाट जोगिएन । विहान सम्पर्क विहीन भएको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो जहाँ सहचालक नेपालीसहित उनको शव फेला प¥यो । अलविदा किरण !