
काठमाडौं, ३ जेठ – नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकले अराजकताको भूमरी थेग्दैन भनेर दुईवटा कम्युनिस्ट पार्टीबीच एकता गरिएको बताएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहिवार नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेर बनेको नेकपा घोषणा कार्यक्रमलाई सम्बोधनगर्दै प्रचण्डले जनताका अगाडि गरेको प्रतिबद्धता पूरा गर्दै पार्टी एकता गरेको बताए ।
अब मुलुक नयाँ युगमा प्रवेश गरेको उनको भनाइ छ ।
‘मुलुकले यो भन्दा बढी अस्थिरता, राजनीतिक अराजकताको भूमरी थेग्न सक्दैन भनेर एकता गर्ने निष्कर्षमा पुग्यौँ,’ प्रचण्डले भने, ‘अब नयाँ युगमा प्रवेश गर्यौँ, समृद्धिको र सुशासनको ।’
उनले थपे, ‘विश्वमा ठूला क्रान्ति गरेका नेता पनि सत्तामा यति भ्रष्ट भए कि जनताले समातेर पिटीपिटी मार्नुपर्ने नेतामा परिणत भए,’ उनले भने, ‘हामी संकल्प गरौँ, निरन्तर जनताको पक्षमा समर्पित हुने, जनतासँग नङ र मासुको सम्बन्ध भएको जस्तो ।’
अधिकाशं नेताहरू ६० वर्ष नाघेको भन्दै उनले अब त्यागको राजनीति गर्ने बताए । ‘हिजो भोकै, अनिदो खट्यौँ । आफ्नो लागि के भन्ने चाहाना राखेनौँ । जनयुद्धमा मर्नका लागि प्रतिस्पर्धा थियो,’ उनले भने ‘अहिले प्रतिस्पर्धा सांसद र मन्त्री बन्न पाउँ भन्नेमा छ ।’