काठमाडौं, ३ जेठ– नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई कम्युनिस्ट पार्टी एकअर्कामा मिसिएको नभएर अन्तरघुलन भएको बताएका छन् । उनले दुवै पार्टी मिसिएर एकीकृत रूपमा आएको बताए ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीवार नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेर बनेको नेकपा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै नयाँ पार्टी स्थापना गरेको नभइ कम्युनिस्ट पार्टीको एकीकरण गरेको बताए ।
‘हामी मिसिएको होइन, अन्तरघुलन भएका छौं, हिन्द महासागरमा गएर कहाँको पानी भनेर छुट्याउन सकिन्छ र ?’ ओलीले भने, ‘अघिसम्म हामीले एमाले, माओवादी भन्यौँ, अघिसम्म प्रचण्ड अर्को पार्टीको नेता, मैले भनेँ तपाईंको माओवादी केन्द्र सिद्धियो, प्रचण्डले भन्नुभयो तपाईंको एमाले पनि सिद्धियो । मैले त्यही जवाफ सुन्नका लागि भनेको थिएँ ।’
ओलीले एउटै पार्टीको सरकार र एक्लैको बहुमत रहेको भन्दै खुसी व्यक्त गरे ।