
काठमाडौं, ३ जेठ– मदन स्मृति दिवसको अवसर पारेर नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिनुअघि दुई दलले चुनावी तालमेल गदै पार्टी एकता घोषणा गरेका थिए । जसलाई उनीहरुले अन्तिम रुप दिएका छन् ।
लेनिन जयन्तीका दिन पार्टी एकता गर्ने तयारी गरिएको भएपनि दुई दलमा कुरा मिल्न नसक्दा रोकिएको थियो । जसलाई निरन्तरको छलफल र वार्ताबाट दुई दलले मिलाएका छन् र पार्टी एकता गरेका छन् ।
विहान सात बजेदेखिनै दुई दलका शीर्ष नेता पार्टी एकताका लागि व्यस्त बने । नेताहरु दिनभर निकै व्यस्त देखिए भने प्रधानमन्त्रीको सरकारी निवास पार्टी कार्यालय जस्तो देखिएको थियो ।
दिनभर के भए ?
बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वानटुवान वार्ता पछि विहीबार एकता गर्ने निर्णय भएको थियो ।
जस अनुसार आज विहान एकता संयोजन समितिको बैठक बोलाइएको थियो ।
आठ बजे
नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते सवारी दुर्घटनामा निधन भएको थियो । भण्डारीको स्मृतिमा एमालेको पुरानो कार्यालय बल्खुमा रहेको मदन आश्रितको प्रतिमामा माल्यार्पण गर्न एमाले अध्यक्ष ओलीसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुगेका थिए ।
कार्यक्रममा प्रचण्डले पार्टी एकता भण्डारीको स्मृति दिवका दिन गर्न आफूले प्रस्ताव गरेको बताएका थिए ।
दश बजे
पार्टी एकता संयोजन समितको बैठक विहान ११ बजे बालुवाटारमा शुरु भयो । त्यसअघि एमाले र माओवादीका नेताले बालुवाटारमा बृक्षारोपण गरेका थिए । रुख विरुवा रोपेसँगै एकता संयोजन समितिको बैठक बसेको थियो । जसले पार्टी एकता गर्ने प्रस्तावलाई अनुमोदन, ९ सदस्यीय सचिवालय, ४५ सदस्यी स्थायी समिति, ४ सय ४१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय ग¥यो । बैठकले विष्णु पौडेललाई महासविच र नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने निर्णय गरेको थियो ।
दुई बजे
संयोजन समितिको बैठक बसेपछि दुई दलको छुट्ट छुट्टै केन्द्रीय समितिको बैठक बसेको थियो । बैठकले पार्टी एकताको प्रस्तावलाई अनुमोदन गरेको थियो ।
साढे तीन बजे
दुई दलको छुट्टा छुट्टै बैठक पछिको संयुक्त बैठकमा नवगठित दल नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका थिए । केपी ओलीले सदस्यहरुलाई शपथ गराएका थिए ।
चार बजे
शपथपछि बैठकले ८ बुँदे निर्णय गरेको छ । जसअनुसार पार्टी दर्ताका लागि सुभाष नेम्वाङ र देव गुरुङलाई खटाउने निर्णय भएको थियो ।
कार्यकर्ताले कुर्चीमा चार घन्टा कुरे
चार बजे राष्ट्रिसभा गृहमा एकीकृत पार्टीको घोषणा हुने भएपछि एमाले र माओवादीका कार्यकर्ता दिउँसो १ बजेदेखि नै राष्ट्रियसभागृह पुगेका थिए । जसका कारण चार बज्दा सभागृहमा पाइलो हाल्ने ठाउँसमेत थिएन । तर पार्टी का विभिन्न बैठक तथा निर्णहरुले गर्दानेताहरु साढे पाँच बजे मात्र राष्ट्रिय सभागृह पुगेका थिए ।
नेताहरुको सम्बोधन
करिब ६ बजे विघटित नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष हात हल्लाउँदै सभा हलमा प्रवेश गरे ।
नेपाल कम्युनिष्ट पार्टी दल दर्ताको निवेदन निर्वाचन आयोगमा दिएर ओली र प्रचण्ड सभाहल पुगेका थिए । कार्यक्रमको सञ्चालन विष्णु पौडेलले गरेका थिए । त्यसपछि जनार्दन शर्माले आफ्ना भनाइ राखे । त्यसपछि माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीको ६ बुँदे घोषणा पत्र जारी गरे । त्यसपछि नेकपाका अध्यक्ष प्रचण्डले सम्बोधन गरे ।
उनले समृद्धिका लागि एकता अपरिहार्य रहेको बताए । त्यसपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले भनाइ राखे । उनले एकीकृत भएको पार्टी टेम्पु नभएर जेट विमान भएको भन्दै ठूलो विमानमा दुई वटा पाइलट हुने बताए । उनले दुई जना मिलेर सल्लाह गरेर पार्टी सञ्चालन गर्ने बताए ।
बालुवाटारमा पार्टी
विहान देखि व्यस्त बनेको बालुवाटार बिहीवार राति सम्म व्यस्त बन्ने भएको छ । विहान बैठक र कुदाकुदका कारण व्यस्त देखिएको बालुवाटार साँझ पर्नासाथ झकिझकाउँ देखिएको हो । बालुवाटारमा रुखरुमा झिलिमिलि बत्ती जडान गरिएको छ ।
बालुवाटारमा पार्टी एकताको भोजको आयोजना गरिएको छ । जहाँ एकीकृत पार्टीका केन्द्रीय सदस्यहरुलाई तथा पार्टी नेतालाई भनेर करिब ६ जनाको लागि खाना पाकेको छ ।