
जनकपुरधाम, ६ जेठ– महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेपछि गाउँका महिलाहरूले शिक्षकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
घटना गत बैशाख २८ गतेको हो । भ्रमरपुरा गाउँस्थित रामदेव जनता उच्च माध्यमिक बिद्यालयमा कक्षा १० मा अध्ययनरत अभिषेक कुमार राउत बिद्यालयमा मोबाइल बोकेर आएका थिए ।
कक्षामा शिक्षकले पढाइरहेका बेला उनको मोबाइलको रिङ्ग टोन बज्यो । भोजपुरीको अस्लिल गीत सहितको रिङ्ग टोन बजेपछि कक्षा शिक्षक राघबेन्द्र प्रसाद ठाकुरले विद्यार्थीको मोबाइल खोसे ।
शिक्षकद्वय नागेन्द्र पाण्डे र राघबेन्द्र प्रसाद ठाकुरले विद्यार्थीलाई दुईपटक लठ्ठीले पिटे । विद्यार्थीले शिक्षकसँग मुख लाग्न थालेपछि विद्यार्थीलाई कार्यालयमा ल्याइयो ।
ती विद्यार्थीले शिक्षकसँग मोबाइल फिर्ता माग्न थाले । विद्यार्थीको कपाल पनि लामो भएकाले कपाल काटेपछि मात्रै मोवाइ फिर्ता पाइने भन्दै शिक्षकले उनलाई कपाल काट्न भने ।
‘कपाल नकाटे तिमीलाई विद्यालयबाट निष्काशन गरिन्छ भन्दा पनि नमानेपछि शिक्षक ठाकुरले कैंची लिएर उसको बढेको कपाल (जुल्फी ) काटिदिए,’ विद्यालयका प्रधानाध्यापक बलराम पाण्डेले लोकान्तरसंग भने, ‘बिद्यालयमा पहिलेदेखि नै आचारसंहिता अनुसार मोबाइल कक्षाकोठामा ल्याउन निषेध गरिएको भए पनि अभिषेकले ल्यायो, शिक्षकले सामान्य दण्ड स्वरूप दुई डण्डा हिर्काए ।’

तर घटना भएको साँझ विद्यार्थीले र उनका आफन्तले शिक्षक ठाकुरमाथि आक्रमण गरेको प्रअ पाण्डे बताउँछन् । ‘विद्यार्थीकी आमाले गाउँका करीब ८–१० जना महिला ल्याएर शिक्षक ठाकुरलाई लात्ती, चप्पलले हिर्काए, कपडा च्यातिदिए,’ प्रअ पाण्डेले भने, ‘अनि गाउँका सबै राजनीतिक दलका प्रतिनिधिलाई बोलाएर छलफल गरे पछि आएका महिलाहरूको किटान भएपछि अभिषेक, अभिषेकको आमा र बाँकी महिलाहरूको किटानी सहित केही सार्बजनिक अपराधको मुद्दा दर्ता गरिएको छ ।’
तर, स्थानीयहरू भने विद्यार्थीलाई यातना दिएर मरणासन्न हुने गरी शिक्षकले कुटपिट गर्दै यातना दिए पछि आक्रोशित भएका टोलका महिलाहरूले आक्रोशमा आएर शिक्षकलाई कुटपिट गरेको दाबी गरिरहेका छन् ।
‘अभिषेकको आमा धार्मिक तीर्थाटनका लागि कारीख महाराज भन्ने स्थान परौलमा गएका बेला आमाले मोबाइलमा फोन गरेपछि शिक्षकले मरणासन्न हुने गरि कुटपिट गरे,’ स्थानीयबासी भोगेन्द्र शर्माले लोकान्तरसंग भने, ‘प्रहरी हिरासतमा रहेको विद्यार्थीलाई शिक्षकले कसरी निर्ममतापूर्वक कुटपिट गरे भन्ने कुराको नीलडाम अहिले पनि हेर्न सकिन्छ । यति मात्र होईन, शिक्षकलाई कुटपिट गर्न नगएका महिलाहरूलाई पनि राजनीतिक आस्थाको आधारमा फसाउने काम भएको छ ।’
विद्यार्थीले तथा महिलाहरूले माफी माग्ने र मिलापत्र गर्ने भनेर सर्बपक्षीय बैठकमा भएको सहमतिअनुसार स्थानीय प्रहरी चौकीमा माफी माग्न आएका बिद्यार्थी अभिषेकलाई शिक्षकहरूले पक्राउ गराएको स्थानीयको आरोप छ ।
‘बिगत चार दिनदेखि विद्यार्थी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा छ, आमाले गाउँ छाडेर भाग्नु परेको छ । किटानी जाहेरी दिएका महिलाहरूको पनि भागाभागको अवस्था छ,’ स्थानीय भोगेन्द्र शर्माले भने ।
घटना पछि बिद्यालयमा गरियो यस्तो निर्णय
विद्यालयमा उक्त घटना भएपछि २ जेष्ठमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर ७ र ८ को भवनमा नागरिक समाज र राजनीतिक दलका प्रतिनिधि समेतको उपस्थितिमा बसेको बैठकले बिभिन्न ८ वटा निर्णय गर्यो । उक्त बैठकले बिद्यालयमा अध्ययनरत विद्यार्थीले गल्ती गरेमा विद्यार्थीलाई ५ हजार १ सय रुपियाँ जरिबाना गर्ने निर्णय गरिएको छ । बिद्यालयमा अध्ययन नगर्ने व्यक्तिले गल्ती गरेमा ५१ हजार रुपियाँ जरिबाना गर्ने निर्णय गरिएको छ ।
उक्त घटनामा दोषी देखिएकाहरूले विद्यालयको सम्पूर्ण शिक्षक कर्मचारीसँग माफी माग्नुपर्ने, विद्यालय परिसर भित्र कुनै किसिमको कानून बिपरित कार्य नगर्ने, जुवा, तास, तथा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई २४ घण्टा थुनुमा राख्ने, बिद्यालयमा कुनै विद्यार्थीले मोबाइल लगेमा ५ सय ५१ रुपियाँ जरिवाना लिने र कक्षाकोठामा कुनै शिक्षाले मोबाइलमा कुरा गर्दा शिक्षकलाई पनि ५ सय ५१ रुपियाँ जरिवाना लिने सर्वसम्मतिले निर्णय गरिएको छ ।