
काठमाडौं, ६ जेठ– केन्द्र सरकारले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । राउत जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका नामको एनजीओको निम्तामा अमेरिका जाने तयारीमा थिए ।
तर मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सो प्रस्ताव अस्वीकृत गरेको हो । मुख्यमन्त्री राउतलाई भ्रमण पठाउने भनि प्रदेश मन्त्रिपरिषद्बबात आएको प्रस्ताव अस्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधि राज्यमन्त्री गोकूल प्रसाद बास्कोटाले जानकारी दिए ।
अहिले प्रदेशभित्रै आर्थिक वर्ष २०७५–७६ को नीति, बजेट तथा कार्यक्रम निर्माण लगायतका संगठात्मक संरचनाका महत्वपूर्ण कामहरु गर्न पर्ने समय परेकाले त्यस प्रस्तावलाई अस्वीकृत गरेको बास्कोटाले जानकारी दिए ।
राउत उनै हुन् जसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन गर्न जनकपुरमा आयोजना गरेको कार्यक्रममा कुटनीतिक मर्यादा विपरितको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।