
काठमाडौं, ७ जेठ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिले अझै पूर्णता पाउन सकेको छैन । केन्द्रीय समितिमा थपघट गर्ने सदस्यको नाम टुंगो लाग्न नसकेको हो ।
पार्टी एकीकरण भएको तीन दिन बितेको छ । नेताहरू नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन् । थपिने केन्द्रीय सदस्यको नाम टुंगो लगाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज भएको छ भने अध्यक्ष पुष्पकमल दाहाललाई सकस परेको छ ।
तत्कालीन एमालेले भने केन्द्रीय सदस्यहरूको नाम सहजै टुंगो लगाए पनि तत्कालीन नेकपा माओवादी केन्द्रभित्र भने सकस भएको हो । नेकपा महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागेको बताए । उनले सबैको नाम टुंगो लागेपछि सार्वजनिक गरिने बताए । शीर्ष नेताहरू नामावली टुंगो लगाउनमा लागेको बताउँदै उनले छिट्टै नाम सार्वजनिक गरिने जानकारी दिए । एकीकृत कम्युनिस्ट पार्टीमा नौ सदस्यीय सचिवालय बनिसकेको छ । पार्टीको ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।
४५ सदस्यीय स्थायी कमिटीमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ तत्कालीन एमालेबाट र २०० माओवादी केन्द्रबाट रहनेछन् । तत्कालीन एमालेको २६ सदस्यीय स्थायी कमिटीलाई स्वतः एकीकृत पार्टीको स्थायी कमिटी सदस्य बनाइँदै छ । यसैगरी, २४१ सदस्य केन्द्रीय सदस्यका लागि एमालेका तत्कालीन १९६ सदस्य स्वतः केन्द्रीय सदस्य हुनेछन् । बाँकी ४५ थपिनेको पनि टुंगो लागिसकेको छ ।